उमेश मोक्तानको साहसले ५१ जनाको ज्यान बच्यो

भद्रपुर / झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको विमान रन-वेमा चिप्लियो ।

साँझ ७ बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो । दुर्घटनापछि जहाजका यात्रु उमेश मोक्तान तामाङले इमर्जेन्सी ढोका खोलिदिएर ५१ जना यात्रुको ज्यान बचाए ।

१४ नम्बर सिटमा बसेका तामाङले जाहाज ल्यान्ड हुने बेलामा गड्याङ गुडुङ गरेर धुवाँको मुस्लो जस्तो देखिन थालेपछि इमर्जेन्सी ढोका खोलेका थिए।

‘एयर होस्टेज पनि आत्तिराख्नु भएको थियो मैले गएर इमर्जेन्सी ढोकालाई एक एक लात्ती दिएँ’, उमेशले भने, ‘सबै आतिएर रुने-कराउने भएपछि मैले केही न केही विकल्प अपनाउनुपर्छ भनेर एयर होस्टेजको आँखा छलेर ढोकामा लात्ती दिएको हुँ।’

उनी अन्य यात्रुलाई सम्झँदै भन्छन्, ‘रुने-कराउने गर्दै हुनुहुन्थ्यो, कसैले त टाउको झ्यालमा ठोकिरहनुभएको थियो। त्यो एकै मिनेटमा के भयो भयो, सबै कालो भए जस्तो भो जहाज नै गन्हायो । बाँचिन्छ जस्तो लागेको थिएन, त्यसैले ढोकामा हानेको हुँ।’

उनी त्यो ढोका खुलेर बाँचिन्छ जस्तो नलागेको बताएका छन् । ‘मैले इमर्जेन्सी ढोका खुलेर बाँच्न सकिन्छ भन्ने ज्ञान पाएरै त्यसो गरेको हुँ । तर मलाई ढोका खुल्छ जस्तो चाहिँ लागेको थिएन’, उनी भन्छन् ।

पाँचथरको फालेलुङ-४ घर भएका तामाङ बिर्तामोडमा बस्दै आएका छ्न । उनी शुक्रबार पनि बिर्तामोडमै बसे । राष्ट्रिय परिचय पत्र बनाउन र अन्य कामले काठमाडौँ गएका तामाङ वैदेशिक रोजगारीमा जाने तयारीमा छन् ।

उता झापाकोअर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोमदेन पनि तामाङले इमर्जेन्सी ढोका लात्तीले हानेर सबैजनालाई बचाएको बताउँछन् ।

‘पाँचथरको भाइ त्यहाँ थिएनन् भने हामीले थाहा नै पाएका थिएनौँ। एयर होस्टेजहरू पनि आतिसक्नुभएको थियो’, गोमदेनले खबरहबलाई भने, ‘धुवाँको मुस्लो भित्र पसिसकेको थियो निसासिएर सबैजना त्यहीँ मर्ने थियौँ । भगवानजस्तो भएर भाइले बचाए।’

गोमदेनका अनुसार पछाडिपट्टिको ढोका एकजनाले फुटाएर केही यात्रु त्यहाँबाट पनि निस्केका थिए। ‘मुख्य कुरा इमर्जेन्सी ढोका खुलेपछि हामी फुत्तफुत्त उफ्रिन सफल भयौं’, गोमदेनले भने,’नसोचेको घटना भयो अचम्म लाग्छ।’

गोम्देन आकाशमा हुँदा पनि प्लेनले धेरै अरुबेला भन्दा हल्लाएको महसुस गरेको दाबी गर्छन् ।

यस्तो छ उमेशको बयान

म एकदमै नर्मस भएको छु। सुरुवातबाटै प्लेन हल्लिरहेको थियो आकाशमा उड्दा पनि प्लेन तलमाथि तलमाथि गरेको जस्तो महसुस भइरहेको थियो। जहाज पुरानो भएकाले यस्तो भएको होला भन्ने भयो वास्ता गरिएन । जहाज ल्यान्ड गर्दै गड्याङगड्याङ आवाज आइरहेको थियो। ल्यान्ड गर्दा जहाज एक ठाउँमा ठोकियो, ठोकिएपछि एयर होस्टेजले नआत्तिनु नआत्तिनु भन्नुभयो ।

माथिल्लो पट्टीको ढोका बन्द भयो । माथ्लो ढोका बन्द हुँदा तल साइडको खोलिन्छ भनेर एक लात्ता दिएँ । ढोका खोल्यो, त्यहाँबाट सबैजना बाँच्न सफल भयौँ। त्यो ढोका नखोलेको भए बाँच्ने अवस्था थिएन। इमर्जेन्सी ढोका मैले नै खोलेँ। जहाज धेरै नै हलिएको थियो। १४ नम्बरको सिटमा बसेको थिएँ, गुटुटु कुदेर ढोका लात्ताले हानेँ ।

ढोकालाई लात्तीले हानेपछि सबैजना हाम फाल्नुभयो। जहाजमा वृद्ध-केटाकेटी सबैजना हुनुहुन्थ्यो, परिस्थिति आएपछि हामफालियो । एकै मिनेटमा के के हुने रहेछ अचम्मै लाग्यो । सपना जस्तो लाग्दैछ। अहिले धेरै नर्मस छु । तर मैले एयर होस्टेजको कुरा नसुनी राम्रै काम गरेछु जस्तो लाग्दैछ। त्यो ढोका नखुलेको भए कोही बाँच्ने थियो भन्ने कल्पना गर्न सकेको छैन । खबर हबबाट

About Everest News 869 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*