
गोली लागेर आन्द्राभुँडी बाहिर निस्किएका मणि नेपाली भन्छन्- ‘मैले गोली निकालेको ऋण तिर्न सकिन’
आन्द्राभुँडी बाहिर निस्किएका थिए, मृत भनेर पोस्टमार्टमका लागि लगिएका सुकुमबासी मजदुर मणि नेपाली ब्युँतिए, तर उपचारमा लागेको ऋणले थिचिएका छन् । उनी भन्छन् :
इलाम दानाबारीको मान्छे हुँ, बिर्तामोडमा बस्छु । मेयर सा’बकै घरनजिकै कोठा भाडामा बसेको छु । इलाममा मेरो केही छैन । बिर्तामोड आएर घर बनाउने काममा लागेको थिएँ । ०७४ कात्तिकमा यतैको एक बालक पोखरीमा मृत भेटिएपछि आन्दोलन सुरु भयो । तर, म मजदुरी गरेर खानुपर्ने, आन्दोलनमा पनि जान पाइनँ । सहकारीको एउटा भवन बन्दै थियो, त्यहीँ काम गर्दै थिएँ । १० कात्तिकको दिन दिउँसो खाजा खान कोठातर्फ जाँदै थिएँ । बाटोमा आन्दोलन चलिरहेको थियो । एक्कासि म भएकै ठाउँमा झडप सुरु भइहाल्यो । मेरै अगाडि नरेश थापा भन्ने मान्छे गोली लागेर ढले । त्यो देखेपछि भाग्न थालेँ । त्यहीवेला मलाई पनि गोली लाग्यो ।
गोलीले ढले पनि होसमै थिएँ । मलाई गोली लाग्यो, मलाई बचाओ भन्दै कराउन थालेँ । स्थानीय जनता मेरो उद्धारमा आएका थिए, प्रहरीले उनीहरूलाई लखेट्यो । मेरो कपाल त्यसवेला लामो थियो । प्रहरीले कपालमा समातेर घिसार्दै लग्यो । त्यतिन्जेलसम्म नरेशको मृत्यु भइसकेको थियो, यो पनि मर्यो भन्ने ठानेर मलाई नरेशको शवसँगै राखेछन् । मेरो पनि होस आउँदै–जाँदै थियो ।
त्यहाँबाट नरेशको शवसँगै मलाई उठाएर प्रहरीले पोस्टमार्टमका लागि भद्रपुर लग्यो । नरेशको शव सिटमा थियो, मलाई तल राखेका थिए । खाल्डाखुल्डीमा गाडी हल्लिँदा नरेशको शव सिटबाट झरेर ममाथि आयो । नरेशको शव रगताम्ये थियो । छेउमा बसेका प्रहरीलाई मैले ‘यो लास उता सारिदिनुस् न’ भनेँ । ए, यो त जिउँदै रहेछ भन्न थाले । तर, दया गर्नुको सट्टा अश्लील शब्द बोल्दै गाली गर्न थाले । अस्पतालको बेडमा लानुको सट्टा पोस्टमार्टम गर्ने घरमा लगे । एकैछिनमा मान्छेहरू पनि भेला भइहाले । मेरो खल्तीमा मोबाइल थियो । श्रीमतीलाई चाहिँ सुनाउन पाए हुन्थ्योजस्तो भयो । ‘मनकुमारी’ भनेर सेभ गरेको नम्बरमा फोन लगाइदिन भनेँ । तर, प्रहरीले मोबाइल नै लगिदिए ।
मणि नेपालीको उपचार खर्चबारे झापाका सिडिओ जनकराज दाहाल भन्छन्–माथि सिफारिस भइसकेको छ, तर के भयो थाहा छैन
घटना हुँदा म झापा आएकै थिइनँ । तर, उपचार खर्चको बिल भर्पाइसहितको फाइलचाहिँ यहाँबाट सिफारिस गरेर माथि पठाइसकिएको छ । फाइल पक्कै पनि राहत शाखामा गएको होला । तर, माथि के भएको छ थाहा छैन । मणि नेपालीले भुक्तानी पाउनुभयो कि भएन भन्ने जानकारी छैन हामीलाई । भुक्तानी सीधै ट्रमा सेन्टरमा पनि गएको हुन सक्छ । यहाँचाहिँ आएको छैन ।
एकै छिनपछि डाक्टरहरू आए । उनीहरूले मैले औँला चलाएको देखेपछि ‘यो त जिउँदै छ’ भने । त्यसपछि बिर्तामोड ल्याएर बी एन्ड सी अस्पतालमा भर्ना गरे । त्यहाँबाट धरान लगे । घोपा (बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान)ले ‘यो मान्छे बाँच्दैन’ भन्दै विराटनगर रेफर गर्यो । विराटनगरबाट काठमाडौं पठाए । काठमाडौं आउँदा साथमा श्रीमती र बहिनी पनि थिए । कुहिनो छेडेर पेटभित्र पसेको गोली सरेर छातीतिर आउँदै थियो । ट्रमा सेन्टरमा तुरुन्तै अपरेसन भयो । ट्रमामा चार महिना बसेँ । ऋण खोजेर उपचार गरेँ ।
कुहिनो छेडेर पेटमा गोली छिरेको थियो ।आन्द्राभुँडी बाहिर निस्किएका थिए । आन्द्रामा प्लास्टिक जोडिएको छ । तिघ्राको छाला लगेर पेटमा टालिएको छ । कुहिनोको हड्डी कामै नलाग्ने भएको छ, डाक्टरले स्टिल लगाइदिएका छन् । अहिले घाउ पाकेर पिप आइरहेको छ । स्टिल नै देखिन थालिसक्यो ।
उपचार गर्दा दयामायाले थुप्रै ठाउँबाट ऋण त पाएँ । तर, तिर्न समस्या भइरहेको छ । ऋण दिनेले पैसा फिर्ता माग्छन् । तिर्ने उपाय छैन । श्रीमतीले अरूको घरमा काम गरेर थोरै पैसा ल्याउँछिन् । त्यही पैसाले कोठा भाडा तिर्न र छोरो पढाउन मुस्किल छ । बसेको ठाउँबाट उठेर जसोतसो खाना पकाएर छोरालाई खुवाउँछु र स्कुल पठाउँछु । पहिला छोराले बोर्डिङमा पढ्थ्यो, पैसा नै नभएपछि अहिले सरकारी स्कुल सारेका छौँ । बिर्तामोडको मेयर सा’बकै घरनजिकै कोठा भाडामा बसेको छु । मासिक भाडा तिर्नुपर्छ । पहिले बसेको घरमा भाडा तिर्न नसकेर निस्किनुपर्यो । ती घरबेटीलाई अझै ४० हजार ऋण तिर्नु छ ।
काठमाडौंको ट्रमा सेन्टरमा गोली झिकेपछि उपचार खर्च पाइएला भनेर बिर्तामोड र अर्जुनधारा नगरपालिका कार्यालय पुगेँ । एक लाख ८० हजारजतिको बिल त काठमाडौंमै हराएछ । अर्जुनधारा नगरपालिकाले बिलहरू हिसाब गरेर एक लाख २१ हजारको फाइल बनाएर सिडिओ कार्यालयमा दिनु भन्यो । फाइल लिएर सिडिओ कार्यालय पुगेँ । पैसा आउँछ भनेर आसचाहिँ नगर्नु, आयो भने हामी फोन गर्छौँ भन्नुभयो सिडियो सा’बले । फोन आउँछ कि भनेर बसेको छु, अहिलेसम्म आएको छैन ।
हात चलाउन गाह्रो छ, पेट दुख्छ । अघाउन्जेल खान पनि मिल्दैन । अब मसँग खर्च नै छैन । फलोअपमा काठमाडौं जाने वेला भयो । फेरि एउटा अप्रेसन गर्नु छ । म घाइते भएका वेला अर्जुनधारा नगरपालिकाले दुईवटा प्लेन टिकटको व्यवस्था गरिदियो । बिर्तामोड नगरपालिकाले ४० हजार र दुईवटा प्लेन टिकट दिने भनेको थियो । मेरा आफन्तलाई १०/१५ हजार मात्र दिएको रहेछ । पूरै रकम पाइएन । मेयर सा’बले दिने भनेबमोजिमको पैसा नपाएपछि नगरपालिका नै गएँ । पुरानो कुरा बिर्सिएँ भन्नुभयो । तर, उहाँ आफैंले बिमाबाट साढे ६ लाख पाउनुभयो, सरकारबाट ३० लाख रुपैयाँ पाउँदै हुनुहुन्छ भन्ने पत्रिका पढेर थाहा पाएँ ।
यता, मैले गोली निकालेको ऋण तिर्न सकेको छैन । उहाँ त यहाँको मेयर, सरकारी तलब खाने मान्छे, व्यापार पनि गर्नुहुन्छ, महिनामा लाखौँ रुपैयाँ कमाउनुहोला, मेरो त खेतीपाती पनि छैन, घर पनि छैन । हामीजस्ता मान्छेको पक्षमा उहाँ बोल्नुपर्ने हो कि होइन ? नया पत्रिकाबाट
Leave a Reply