नारायण प्रधान
चैत्र १९ । आज फेरी बिहान भयो । सदाझैँ । हुन त आज कुनै बिशेष दिन थिएन ।
आज १९ दिन पुगेछ लकडाउनको । बिश्व आज कोरोना भाइरसको त्रासादिपूर्ण अबस्थाबाट गुज्रिरहेको छ । यो भयाबह स्थितीबाट जोगीन लकडाउन आफैमा सुरक्षित तथा संक्रमण न्युनीकरणको उत्तम माध्यम हो ।
यो कष्टप्रद समय सम्पूर्ण बिश्व नै प्रताडित छ । अब यस्तो बेला सरकारले लागु गरेको लकडाउन तथा सेल्फ क्वारेन्टाइनमा बस्नु हामी सबैको साझा जिम्मेवारी पनि हो । यो हामी स्वयमको लागि र सबैका लागि फाइदाजनक पनि छ ।
आजकल सबैजनाको दैनिकी उठ्ने, खाने, सुत्ने र फिल्म हेर्ने र यतिकै बसेर दिन काटनु भएको छ । अब दिनचर्या यस्तै भएपछि वाक्क दिक्क लाग्नु स्वाभाबिक नै हो ।
“बाहिर डुलुवा कुकुर जस्तै लुखुरलुखुर हिड्ने बानी भएको मलाई “
सेल्फ क्वारेन्टाइनको समय मलाई केही समयको लागि त जेलमा बसेको जस्तै भान नभएको पनि हैन । बाहिर डुलुवा कुकुर जस्तै लुखुरलुखुर हिड्ने बानी भएको मलाई एकै ठाउँमा बस्नु परेको बाध्यता देखेर औधी रिस पनि नउठेको हैन ।
यो एकदम चुनौती पूर्ण काम पनि हो । अब गर्ने के ? लकडाउन अबधिभर बाहिर जान पनि नमिल्ने । एउटा जिम्मेवार नागरिक भएकोले देशको नियम कानुन मान्नु हामी सबैको दायित्व पनि हो । रेगुलरको दिनचर्यालाई अँगाल्नु आफैमा हिमाल चढ्नु बरोबर लाग्यो ।
एउटा घरमा बन्दी भए म । कोठा र घर भित्रको संसार साच्चै अच्चम्म नै लाग्यो । सुरुवाती दिनहरु सहज र रमाइलो लागेता पनि त्यस्ले बिस्तारै मानसिक रुपमा पिडा दिन थालीसकेको थियो ।
म आफै दिक्क भए । सुरुवाती साता त लगभग नै बित्यो । त्यसपछि लकडाउनको अबधि थप र बिश्वब्यापी रुपमा बढेको प्रकोपले यसबारे सोच्न म बाध्य भए । म मात्र हैन सबैजना सोच्न बाध्य भएका छन् ।
हुन त अबस्था जीवन र मरणको छ । समय त्यति अनुकूल छैन । मानिसहरुको मनमा डर, त्रासको स्थिति छ । जताततै नेगेटिभिटीको भाइब छ । यस्तो बेला आफैलाई पोजीटिभ राख्नु पनि केही हदसम्म गाह्रो नै हुन्छ ।
मेरो दिमागमा बत्ति बल्यो । खै किन हो थाहा भएन । तर अरु बिकल्प पनि त थिएन । प्रतिकुल परिस्थितीमा आफनो मनस्थिती अनुकुल राख्नु आबश्यक देखे । यसैमा आफनो कल्याण हुने लाग्यो ।
मैले आफनो बिहान देखि बेलुकी सम्मको लागि सेड्युल बनाए । बिहान सबेरै उठेर योगा, ध्यान, ब्यायामलाई छुट्टाए । यस्ले मेरो शरिर र मानसिक रुपमा स्र्फुत रहन धेरै मदत गर्यो ।
त्यसपछि परिवारसँग मिलेर किचनमा खाना पकाउन मदत गर्ने तथा किचनको काममा सहयोग गर्न सुरुवात गरे । बेला मौकामा हामी बिभिन्न परिकाहरु बनाउँछौ र एक अर्कासँग बसेर खान्छौँ ।
कति भएछ यसरी सँगै बसेर नखाएको पनि । मलाई किचनको काम खासै आउँदैन तथापी अहिले म धेरै खुशी छु । खाना पकाउन सिक्न थालेको छु । किचनमा मेरो उपस्थिीतीले गर्दा घरका सबै जना खुशी छन् ।
हामी रमाइला रमाइला गफ गर्र्दै एकले अर्कालाई सहयोग गर्दा मैले यो आत्मीयतालाई महशुस गरे । लाग्यो की यी सब कुराहरु जीन्दगीको भागदौडमा धेरै पर छुटेको रैछ । परिवारसँगै बसेर खाना खानु ।
परिवारसँग बसेर रमाइला तथा मिठा गफ गाफ गर्नु बास्तवमा आफैमा आनन्ददायी कुरा हो । यो एक महत्वपूर्ण क्षण हो । जीवन धेरै अघि बढेछ । बाल्यकालका रमाइला दिनहरुले सम्झनाका पोका फुकाइदियो ।
“परिवारसँग बसेर रमाइला
तथा मिठा गफ गाफ गर्नु
बास्तवमा आफैमा आनन्ददायी कुरा हो ”
परिवार तपाईको जीवनको यस्तो बलियो स्तम्भ हो । जुन तपाईको हरेक सुख दुखमा साथ रहन्छ । यो एक दरिलो साथ पनि हो । म आफुलाई भाग्यमानी महसुुस गर्दैछु । जहाँ जता गए पनि परिवारको माया र साथ सगरमाथा जस्तै अटल र दिगो र जीवन पर्यन्त रहिरन्छ ।
समयको गति सँग चल्दै गर्दा म बिहानको खाना खाए पछि केही बेर आराम गर्छु । त्यसपछि अरु साथीहरु जस्तै म पनि फिल्म हेर्न रुची राख्छु । हुन त मलाई बिशेष यही किसिमको फिल्म मन पर्छ भन्ने छैन ।
प्राय जसो म सबै फिल्म हेरेर मनोरञ्जन लिन्छु । धेरै साथीहरुले यो फिल्म , त्यो सिरिज हेर भनेर बेला मौकामा सुझाउछन् । समय निकालेर म हेर्छु पनि । अहिले म चलचित्र हेर्दा बिशेषत ऐतिहासीक महत्व बोकेका तथा यात्रा सम्बन्धि र बायोपिकहरू बढि हेर्न मन पराउन थालेकोछु ।
यस्ले मेरो समयको निकै सदुपयोग गरेको छ साथै ति ब्यक्तित्व तथा ईतिहासको बारेमा समेत धेरै जानकारीहरु दिएको छ । रेगुलर मसालेदार फिल्म तथा सिरिज भन्दा पृथक कुराहरु मैले पाएकोछु ।
हुन त आफनो आफनो च्वाइसको कुरा पनि हुन्छ । सिनेमा मनोरञ्जनका लागि मात्र नभइ केही जानकारी तथा उत्कृष्ट अभिनय,संगित, गीतका लागि पनि हेर्न सकिन्छ ।
यस्ले मानसिक रुपमा थप उर्जा दिन्छ अनि ताजापन पनि । सिनेमा आफैमा उत्कृष्ट कला हो । यस्ले सबैको मन जितेको हुन्छ ।
हामीलाई पढ्न भनेपछि पक्कै अल्छि लाग्छ क्यारे । स्कुल कलेजमा हुँदा त पढ्न गाह्रो लाग्ने झन अरुबेला साच्चीँ सजिलोभने छैन । मलाई पढ्न मन लाग्छ । बिस्तारै बिस्तारै पढ्ने बानीको बिकास गर्नु आबश्यक छ ।
यस्ले हाम्रो बौद्धिकतामा बृद्धि गर्दछ साथै हाम्रो सोच्ने क्षमतामा समेत बिशेप प्रभाव पार्दछ । कुनै पनि बिषयको अध्ययनले हाम्रो चेतनाको स्तरलाई फरक गर्दछ । यस्ले प्रेरणा तथा आत्म मननमा सहयोग पुग्ने देखिन्छ ।
अहिलेको समयलाई ध्यानमा राख्दै म केही नेपाली तथा बिदेशी उपन्यास, जीवनी र दर्शनशास्त्रका कुराहरु पढीरहेकोछु । अहिले केही हदसम्म मलाई बानी भएको छ । यस्ले मेरो समयको पनि सदुपयोग गरेको छ ।
सबैले पढ्नैपर्छ भन्ने जरुरी पनि छैन । अडियो बुक पनि अर्को किताब सुन्नका लागि उपयुक्त मान्निछ । आफुलाई जसो गर्दा सजिलो हुन्छ त्यही गर्ने हो ।
अपरान्हको समयमा म केही समय गमलाका फुलहरुमा पानी हाल्न र गोडमेलमा बिताउँछु । माटोसँग खेल्दा रमाइलो लाग्छ । अब सबैको त संभव नहोला ।
यस्तो बेला हामीहरू कोठा सफा गर्ने , लुगा मिलाउने । कपडाहरु स्त्री गर्ने, जुत्ताहरु धोएर, पोलीस गरेर राख्न सक्छौँ । ब्यक्तिगत जीवनलाई सहज र ब्यवस्थित बनाउनका लागि हामीहरु ध्यान दिन सक्छौँ ।
म पनि यस्तै गर्दै आइरहेकोछु । मेरो सामानहरु धेरै नै ब्यबस्थित भएको छ । नचाहिने कुराहरुलाई फाल्ने, कसैलाई दिने वा रिसाइकल गर्नका लागि छुट्याउने निकै नै सजिलो पनि भएको छ ।
आज हामी सबै सेल्फ क्वारेन्टाइनमा छौँ, त्यसैले धेरैसँग सामाजिक दुरी पनि छ । इन्टरनेटको सुबिधाले खासै त्यसलाई भने प्रभाव पारेको जस्तो लाग्दैन ।
म नियमित आफनो आफन्त, साथीभाइ चिनजानका मानिसहरुसँग सम्र्पकमा छु । यस्ले मेरो सामाजिक जीवन सरल बनाएको छ ।
वहाँहरूप्रतिको सद्भावले मलाई निकै खुसी पनि दिएको छ । बेला मौकामा भिडियो कल गरेर एक अर्कालाई साहस बढाउन र पोजेटिभिटी बढाउनका लागि समेत आपसी सहयोग गर्दै आइरहेकाछौँ ।
कहिलेकाही यसो मन लाग्यो भने कविता, कथा लेख्छु । आफनो मनको बहहरू सृजनामा उर्ताछु । चित्र पनि कोर्छुु । उत्कृष्ट नहोला तर मलाई यी सब गर्दा खुशी लाग्छ ।
आफुलाई मन लागेको तर बिशेष ज्ञान नभएको कुरामा चाहीँ युटुब हेरेर सिक्ने प्रयत्न गर्दा आफैलाई रमाइलो लाग्छ । यो सिकाइको उत्कृष्ट माध्यम हो साथै फ्रि पनि उपल्बध हुन्छ ।
सबैका लागि क्वारेन्टाइन समय बिताउन गाह्रो भइरहेको होला तर म यस्लाई क्वारेन्फाइन भन्न रुचाउँछु ।
कमसेकम म आफैले आफुलाई समय दिन सक्षम भएकोछु । नियमित जीवनमा सायद हामी आफैले आफैलाई बिर्सिरहेकाछौँ । कति कुराहरू चाहेर पनि छुटिरहेकाछन् ।
के ति कुराहरुलाई यो समयमा पुरा गर्न सक्दैनौ ? जति नै भागदौड गरेतापनि आफनो मनमा भित्री शान्ति छैन भने त्यसले दिने सफलताको कुनै महत्व राख्दैन ।
” हामीले आफनो ब्यक्तिगत, मानसिक,
शारिरीक,पारिवारीक, सामाजिक जीवनका हरेक
पक्षहरूलाई नजिकबाट हेर्न, चिन्न र बुझन आबश्यक छ । “
यो समयले हामीलाई जीवनको आरोह अबरोहको रिफलेक्सन दिएको जस्तो लाग्छ । हुन त सबैको आफनो भोगाइ हुन्छ । यधपी सबैलाई ब्यक्तिगत समय आबश्यक छ ।
आफैले आफैलाई चिन्न सक्नु र आफैसँग समय बिताउन निकै जरुरी छ । हामी धेरै नै सांसारीक भएका छौँ ।
हामीले आफनो ब्यक्तिगत, मानसिक, शारिरीक,पारिवारीक, सामाजिक जीवनका हरेक पक्षहरूलाई नजिकबाट हेर्न, चिन्न र बुझन आबश्यक छ ।
यो क्वारेन्टाइन नभई क्वारेन्फाइन पनि त हुन सक्छ नी हैन कि कसो ? यस्तै त हो हामी सबैले भोग्ने फरक यति हो हामी ती भोगाइहरुसँग के गछौँ ?
Leave a Reply