एभरेष्ट न्यूज,
मंसिर-७, काठमाण्डौँ । विश्वमै दुर्लभ चरा ‘हङरायो’ इलाममा भेटियोविश्वमै दुर्लभ अवस्थामा रहेको चरा ‘हङरायो’ इलाममा भेटिएको छ । झापाका चरा खोजकर्ता देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त चरा फेला पार्नुभएको हो । खरेलले एक जोडी भाले ‘हङरायो’ फेला पारेको गोरखापत्र अनलाइनले जनाएको छ।
धनेश समूहभित्र पर्ने हङरायो सुन्दर पंक्षी रहेको खरेलले जानकारी दिनुभयो। नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको अँग्रेजी नाम ‘रुफस नेक्ड हर्नबिल’ हो भने वैज्ञानिक नाम ‘एसोरोस निपालेन्सिस’ हो। चरा विज्ञकाअनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन।पहिले यसको अस्तित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन।
डेढ सय वर्षयताकै यो पहिलो रेकर्ड रहेको खरेलले दावी गर्नुभएको छ। पहिले उक्त चरा नेपालमा भए पनि प्रविधिको पहुँच नपुग्दा क्यामेरामा कैद हुन नसकेको जनाइएको छ।इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँको एक सय मिटरमा यो चरा भेटिएपछि उक्त क्षेत्रमा अन्य प्रजातिका चरा पनि फेला पार्न सकिने अनुमान गरिएको छ ।
हर्कटे कन्यामलगायतका क्षेत्रमा समेत केही समय अघि दुर्लभ चरा फेला पार्नुभएका खरेलले आफनो चाहना नै चरा खोज्ने भएको बताउनुभयो ।
खरेलले यसअघि नेपालका लागि दुर्लभ चरा हरित परेवा भेटेर रेकर्ड राख्नुभएको थियो । सुन्दर देखिने उक्त चरा चुच्चोदेखि पुच्छरसम्म लम्बाइको चार फिटसम्म हुने गरेको छ । खरेलले भन्नुभयो ‘धेरै पटकको प्रयासमा फेला पारेको हुँ, यी क्षेत्रमा अन्य चरा पनि भेटिने सम्भावना छ ।’ जनबोलीबाट
Leave a Reply