विदुर नपा २ स्थित नुवाकोट दरबार इलाकाबाट करिब १ किमी उत्तर पूर्वमा पर्ने अशोकवाटिका बौद्ध विहार (पुरानो नाम अंशुवाटिका) आज भन्दा सम्भवतः १४०० वर्ष भन्दा पनि धेरै अघि निर्माण भएको अनुमान गरिएको र प्राप्त अभिलेख अनुसार वडा महाराज श्री ५ पृथ्वीनारायण शाहका शासनकालमा मर्मत जिर्णाेद्वार गरिएको बौद्ध विहार हाल अत्यन्त जीर्ण र लथालिङ्ग अवस्थामा विद्यमान रहेको छ ।
हाल यहाँ अवस्थित चैत्यलाई अवलोकन गर्दा कुनै समय यस स्थान महत्वपूर्ण बुद्धिष्ट स्थान रहेको हुनुपर्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
यस स्थानको वरिपरि बसोबास गर्ने अधिकांश नेवार समुदायहरुको धर्मकर्म देखि काजक्रिया हालसम्म पनि बौद्धधर्म अन्तर्गत बुद्धाचार्यहरुबाट हुँदै आएकोले पनि यो ठाउँ कति महत्वपूर्ण छ भनेर सजिलै अनुमान पनि गर्न सकिन्छ ।
यस स्थानमा रहेका चैत्यहरु र किर्तिपुर, बागभैरव नजिकैको स्थानमा रहेको चैत्यलाई हेर्दा धेरै कुराहरु हुबहु मिल्न आउँछ ।
बौद्धमार्गीहरुको यति महत्वपूर्ण स्थल आज किन यस्तो लावारिस अवस्थामा जीर्ण र लथालिङ्ग छ ? के बौद्धमार्गीहरु र बुद्धिष्ट संघसंस्थालाई यस स्थानको बारेमा कुनै जानकारी नै नभएको हो त ? विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मथलो यस मुलुकमा छरिएर रहेका विभिन्न धार्मिक, साँस्कृति र पुरातात्विक सम्पदाहरुको यथासम्भव संरक्षण गरी तिनको जगेर्ना गर्नु हरेक बौद्धमार्गी र देशबासीको कर्तव्य हो ।
व्यक्तिगत स्वार्थको लागि नयाँ नयाँ गुम्बा, चैत्य बनाउनु भन्दा पुराना पुराना (अशोकवाटिका बौद्ध विहार) जस्ता सम्पदाहरुको संरक्षण गरी जगेर्ना गर्नु पर्दछ ।
साँचो अर्थमा बुद्ध धर्म र बुद्ध शिक्षालाई नेपालको गाउँ गाउँमा फैलाई सम्पूर्ण नेपालीहरुलाई हित हुने कार्य गर्ने हो भने यस्ता बुद्धिष्ट स्थलहरुको तुरुन्त सबै बौद्धमार्गीहरु मिलि संरक्षण गर्दै संसारभरिका बुद्धिष्ट समुदायलाई जानकारी दिनुपर्दछ
Leave a Reply