“रातो महलको सपना” उपन्यासमा नायक चिया पाओय्विका बाबु चिया चङ्ले आफ्नो छोरो चिया पाओय्विलाई सधैं राम्ररी मेहनत गरी पढ्नका लागि भनिरहनुभएको पाउँदछौं ।
वहाँले पाओय्विलाई पढाउनका लागि महलनजिक आफ्नो पुर्खाले स्थापना गरेको विद्यालयमा पठाउनु भएको र पछि अध्यापक गुरुहरूको व्यवस्था गरिदिनुभएको पनि उपन्यासमा पढ्न पाइन्छ । तर पाओय्वि चाहिं आफ्नो बाबुले पढ्न लगाएको कुराहरू पढ्न मन गर्दैनथे, त्यही कारणले हरेक पटक उनले बाबुको गाली हप्काइ सुन्नु पर्दथ्यो । पाओय्विका बाबुले उनलाई के पढाउन खोजेका थिए, र किन त्यति जोड दिएका थिए त ? चिया चङ्का बाजेको पुरुषार्थका कारणले सम्राट्ले चिया परिवारलाई उच्च पदवी र बिर्ता भूमि लगायत अरू सुविधाहरू दिइराखेका थिए ।
ती सुविधाहरू सामन्यतया तीनदेखि पाँच पुस्तासम्म पाइने भए पनि सम्राटबाट कुनै पनि समय रोक्न सक्ने अवस्था आउन सक्थ्यो । यदि त्यस्तो सुविधा पाएको परिवारका सदस्यले सरकारी सेवामा प्रवेश गर्न दिनुपर्ने परीक्षामा उत्तीर्ण भएर सरकारी सेवाका लागि निवेदन दिए भने सम्राट् अति बढी खुशी हुनेछन् भन्ने चिया चङ्लाई राम्ररी थाहा थियो । उनी आफै पनि एक उच्च पदाधिकारी थिए ।
आफ्नो छोरा चिया पाओय्विलाई राम्ररी पढ्न दबाब दिनुको कारण सरकारी सेवामा प्रवेश गर्न दिनुपर्ने परीक्षा (चीनिया भाषामा ‘खःच्य्वी’) उत्तीर्ण गराउनका लागि थियो । त्यस समयमा खःच्य्वी परीक्षाको मूल विषय क्षेत्र कन्फ्युसियसवादका ग्रन्थहरू थिए ।
कन्फ्युसियसवादका आधारग्रन्थ नौवटा थिए, जसमा ‘चार पुस्तक’ र ‘पाँच शास्त्र’ पर्दथे । खःच्य्वी परीक्षा खास गरी ‘चार पुस्तक’मा आधारित हुने गर्दथ्यो । ती चार पुस्तकहरू ‘कन्फ्युसियसका महावाणी’, ‘मङ्सियसका प्रबन्धहरू’, ‘मध्यम मार्ग’ र ‘महान् विद्या’ थिए । तिनीहरूको मुख्य विषयवस्तु भन्नु राजनीति, समाजशास्त्र, नैतिक शिक्षा आदि थिए ।
पाओय्विलाई यी सबै कुराहरू ढोङ्गी लाग्दथ्यो त्यसैले उनले कहिले पनि मन लगाएर ती पुस्तकहरूको अध्ययन गरेनन्।
कन्फ्युसियसवादका आधारग्रन्थहरू मध्ये ‘पाँच शास्त्र’मा पर्ने ‘कविता शास्त्र’ चाहिं पाओय्विलाई मन पर्दथ्यो र त्यसलाई राम्ररी ध्यान दिएर पढेका पनि थिए । खःच्य्वी परीक्षाका लागि उपयोगी नभएको हुँदा चिया चङ् पाओय्वि र उनका अध्यापकहरूलाई ‘कविता शास्त्र’ पढाउन बढी जोड नदिनू भन्ने गर्नुहुन्थ्यो।
कन्फ्युसियसवादका नौवटा ग्रन्थ बाहेक त्यसबेला अरू पनि धेरै पुस्तकहरू उपलब्ध भइसकेका थिए । तीमध्ये ताउधर्म र बुद्धधर्मका केही पुस्तकहरूको पनि उपन्यासमा उल्लेख भएको छ । तीबाहेक अरू धेरै कविका कविता सङ्ग्रह, नाटक पुस्तकहरूको उपन्यासमा उल्लेख छ ।
पाओय्वि र लीन् ताइय्वि दुवैजना कविता नाटकका पुस्तकहरू पढ्न रुचाउँथे । त्यस बखत ती पुस्तकहरू ‘अशुद्ध पुस्तक’मा गनिन्थे ।
एकपटक लीन् ताइय्विले त्यस्तै पुस्तकको एक हरफ बोलेको सुनेर पाओछाइले उनीलाई केरकार गर्ने बहाना गरी सबैको अगाडि त्यस्तो ‘अशुद्ध पुस्तक’को कुरा नबोल्न सम्झाएकी थिइन्।
यदि तपाईहरुलाई “रातो महलको सपना” उपन्यास सम्बन्धी यी लेखहरू मन परेमा तलको लिङ्कमा क्लिक गरी उक्त उपन्यासको कथासार पढ्न सक्नु हुन्छ।
चीनिया उपन्यास “रातो महलको सपना” सम्बन्धी यो लेखहरू र उपन्यासको कथासार नेपाली भाषामा लेखेर सहयोग गर्नु हुने डा. सर्वोत्तम श्रेष्ठ । चाइना कल्चर पेजबाट
Leave a Reply