असोज ३०, काठमाडौं ।
नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना दिएको छ । महासंघले माग पुरा नभएसम्म अनिस्चितकालिन रुपमा हरके दिन धर्ना गरिने समेत जनाएको छ ।
कान्तिपुर मिडियो गु्रपको व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका माग पूरा गर्न महासंघले एक घण्टा धर्ना दिएको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले न्यूनतम माग पनि सम्बोधन गर्न तयार नभएकाले आन्दोलनमा आउनुपरेको बताउनुभयो ।
उहाँले कान्तिपुरजस्तो संस्थाको विश्वसनीयता नखस्कियोस् र बदनामी नहोस् भन्नेमा हामी सचेत छौँ, तर यस विषयमा व्यवस्थापन बेलैमा सचेत हुनुपर्छ ।संस्थापन पक्षले तत्कालै समाधानमा नलागे अन्तर्राष्ट्रिय पत्रकार महासंघसहितका संस्थाहरू र कुटनीतिक नियकामा पनि पत्राचार गरी श्रमको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिने बताउनुभयो ।
महासंघका महासचिव रोसन पुरीले कान्तिपुरले श्रमजीवी पत्रकार ऐन लगायतका कानुन कार्यान्वयन नगर्दा पत्रकारहरू सडकमा उत्रिनुपर्ने अवस्था आएको बताउनुभयो ।
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले श्रमजीवीको विषय समग्र मिडिया उद्योगमा रहेकाले यसलाई विस्तारित गर्नुपर्ने बताउनुभयो ।
समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले धर्नामा ऐक्बद्धता जनाउँदै श्रमको मुद्दा निरुपण गर्ने यो उपयुक्त बेला भएको बताउनुभयो ।
श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले पत्रकारहरूको न्यायपूर्ण आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहेको बताउनुभयो । जायज मुद्दा र शालीन आन्दोलनलाई सकारात्मक रुपमा लिन र कानुनको पालना गर्न उहाँले आग्रह गर्नुभयो । सम्पूर्ण श्रमजीवीहरूलाई एकताबद्ध गरेर आन्दोलनलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
धर्नामा कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकारहरूसहित पत्रकारका विभिन्न संगठनका प्रतिनिधिहरू पनि सहभागी थिए ।
महासंघका महासचिव रोसन पुरीले कान्तिपुरमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जानकारी दिनुभयो । महासंघले बुधबार पनि ३ देखि ४ बजेसम्म धर्ना जारी राख्नेछ ।
Leave a Reply