एभरेष्ट संवाददाता ।
प्राचीन इजिप्टमा प्रयोग हुने योगलाई ‘स्माई तवी’ भनिन्छ । स्माई तवीको अर्थ ठूलो जमिन र सानो जमिनको जोड वा जोड्ने कार्य हो । हामीले भन्दै आएको आत्मादेखि परमात्मासम्मको जोड र स्माई तवीको अर्थ एउटै छ । भारतीय उपमहाद्वीपले सोझो भनेको छ भने इजिप्टले विम्बात्मक रूपमा । यसरी हेर्दा योगासन मात्र होइन, योग नै इजिप्टबाट सुरु भएको मान्न सकिन्छ ।
ढुंगेयुगका मानिस बिहान उठेपछि सबैभन्दा पहिला आफ्नो आहाराको खोजीमा निक्लन्थे । कन्दमूल खोजेर वा शिकार मारेर ल्याएपछि मात्र उनीहरूले भोजन गर्न पाउँथे । उनीहरूको जीवनशैलीमा पहिला परिश्रम अनि मात्र भोजन थियो । त्यसैले तत्कालीन समयमा मानिसहरू अहिलेको जस्तो दीर्घ वा जीर्ण रोगबाट पीडित थिएनन् । अहिलेको आधुनिक युगको मानिस रोगबाट अति प्रताडित छ । अझ ४० कटेपछिको शरीर त रोगकै घर बन्छ । तर, ढुंगेयुगमा यस्तो अवस्था थिएन । जसको एउटै मात्र कारण हो, व्यायाम पछिको भोजन । व्यायाम जति गर्याे, शरीर उति मजबुत हुन्छ । उदाहरणका लागि, जंगली कुखुराभन्दा हामीले पालेको कुखुरा कमजोर हुन्छ । जंगली कुकुरभन्दा घरपालुवा कुकुर कमजोर हुन्छ । घरपालुवामा सुविधा छ, त्यसैले उनीहरू कमजोर छन् । जंगलीसँग संघर्ष छ, त्यसैले उनीहरू बलिया छन् ।
कसरी जन्मियो योगासन ?
अहिलेको सभ्यता विकासको प्रारम्भ १०/१२ हजार वर्षअगाडिबाट भएको हो । सभ्यता विकाससँगै कृषि युगको प्रारम्भ हुन पुग्यो । कृषि समाजले नै सञ्चय (सम्पत्ति), विवाह र परिवारजस्ता संरचनाहरूको विकास गरायो । यिनै संरचनाबाट राज्यको निर्माण हुन पुग्यो । राज्य निर्माणसँगै राजतन्त्रको अभ्युदय हुनु स्वाभाविकै हो ।
सिन्धुघाटी सभ्यतामा भेटिएको आदि योगीको चित्र
राजतन्त्रको निर्माण र सञ्चालनसँगै समाजमा विभिन्न वर्ग देखापरे । खास गरी, कृषक, व्यापारी तथा शासक वर्गमा समाज विभक्त हुन पुग्यो । कृषक अहोरात्र परिश्रम गथ्र्यो । कृषकभन्दा व्यापारीले तुलनात्मक रूपमा कम श्रम गथ्र्यो । शासक वर्गले परिश्रमजन्य काम गर्नुपर्दैनथ्यो । दरबारमा रहेका राजपरिवारका सदस्यले श्रम नगरेपछि उनीहरूलाई भयंकर रोग लाग्न थाल्यो । ऐस–आराममा रहेका दरबारियालाई श्रम नभएका कारण शारीरिक रोग देखापरे भने, राज्य सुरक्षाको भयले उनीहरूमा मानसिक समस्या पनि देखापर्न थाले ।
दरबारसँग बुद्धिजीवी वा विद्वान्हरू पनि जोडिएकै हुन्थे । पूर्वमा उनीहरूलाई पुरोहित भनिन्थ्यो भने पश्चिममा ‘प्रिस्ट’ । यस्ता पुरोहितले सम्पूर्ण भोग–विलास, ऐस–आराम र खानपानका विपरीत पनि किन रोग लाग्यो भनेर खोजी गरे । खोज र अनुसन्धानबाट उनीहरूले व्यायाम आवश्यक रहेको पत्ता लगाए । यही पृष्ठभूमिबाट नै योगासनको विकास भएको देखिन्छ ।
योग भारतको होइन, इजिप्टको हो
सामान्यतः योगासनको प्रादुर्भाव भारतीय उपमहाद्वीपबाट भएको मानिन्छ । तर, पछिल्ला खोज र अनुुसन्धानबाट के पत्ता लाग्दै गएको छ भने योगासनको विकास अफ्रिका (इजिप्ट) बाट भएको हो । इजिप्टमा भेटिएका करिब चार हजार वर्ष पुराना ‘वाल पेन्टिङ’मा योगासनका चित्र छन् ।
इजिप्टमा भेटिएका करिब चार हजार वर्ष पुराना ध्यानासनका भित्तेचित्र
पूर्वीय सभ्यताले योगलाई दर्शनका रूपमा ग्रहण गरेको छ । पूर्वीय दर्शनको आधारमा हेर्दा योग बृहत्तर विषय हो । जसभित्र प्राणायाम, ध्यान, मुद्रा हुँदै मुक्तिसम्मको विषय समावेश छ । तर, अहिले जनमानसले जेलाई योग भनेर बुझिरहेका छन्, त्यो योगासन (व्यायाम) मात्र हो, सम्पूर्ण योग होइन । पछिल्लो समय भारतीय योगगुरु रामदेवले योगलाई व्यापक बनाइरहेका छन् । र, उनको अभियानलाई भारतीय सत्ताले पनि सहयोग गरिरहेको छ । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री भएपछि उनकै पहलमा जुन २१ लाई योग दिवसका रूपमा मनाउन थालिएको छ । तर, त्यो योग दिवसभन्दा पनि ‘योगासन दिवस’ मात्र हो ।
योगासन (व्यायाम) लाई भारतीयहरूले आफ्नो भनेर दाबी गरिरहेका छन् । तर, योगसँग सम्बन्धित शास्त्रहरूको अध्ययन गर्दा यो दाबी मेल खाँदैन । पतञ्जलिको योग सूत्रमा योगासनको कतै पनि व्याख्या छैन । बरु पद्मासन, सिद्धासन वा सुखासनजस्ता ध्यानासनबारे योग सूत्रमा चर्चा गरिएको छ । अहिले प्रचलनमा रहेका योगासनहरूको कतै उल्लेख छैन । योग सूत्रमा उल्लेख गरिएको श्वास क्रियाको सन्दर्भ पनि योगासन होइन, प्राणायाम हो ।
अहिले प्रचलनमा रहेको योगासनलाई शास्त्रमा खोज्दै जाँदा धेरै पुरानो पाइँदैन । योगासनहरूको उल्लेख गरिएका हठयोग प्रदीपिका, घेरण्यसंहिता, शिवसंहिताजस्ता पुस्तक दुई÷तीन सय वर्षअगाडि मात्र लेखिएका हुन् । भारतको महाबलिपुरममा भेटिएको सबैभन्दा पुरानो मानिएको योगासन मूर्ति पनि १५÷१६ सय वर्ष मात्रै पुरानो हो ।
तर, इजिप्टमा त्यस्ता चित्र चार हजार वर्षभन्दा पनि पुराना पाइएका छन् । यसबाट हामी के भन्न सक्छौँ भने अध्यात्म, ध्यान, प्राणायामजस्ता विषय भारतमा विकास भएको भए पनि योगासन भने अफ्रिकाबाट भारत भित्रिएको हो ।
इजिप्टमा भेटिएका करिब चार हजार वर्ष पुराना ध्यानासनका भित्तेचित्र
इतिहासकार तथा मानवशास्त्रीका अनुसार हालको दक्षिण भारतीयका पूर्वज इजिप्सियन हुन् । कतिपय दक्षिण भारतीय र अफ्रिकीबीच शारीरिक बनोटमा पनि धेरै समानता पाइन्छ । पछिल्लो आधुनिक युगमा योगासनको उत्थान गर्न दक्षिण भारतीय गुरुहरूकै मुख्य योगदान रहेको पाइन्छ । कृष्णमाचार्य, बीकेएस अयंगर, पट्टाभि जोयीस, शिवानन्दजस्ता प्रसिद्ध योगगुरुहरू दक्षिण भारतीय हुन् ।
प्राचीन इजिप्टमा प्रयोग हुने योगलाई ‘स्माई तवी’ भनिन्छ । स्माई तवीको अर्थ ठूलो जमिन र सानो जमिनको जोड वा जोड्ने कार्य हो । हामीले भन्दै आएको आत्मादेखि परमात्मासम्मको जोड र स्माई तवीको अर्थ एउटै छ । भारतीय उपमहाद्वीपले सोझो भनेको छ भने अफ्रिका (इजिप्ट) ले विम्बात्मक रूपमा । यसरी हेर्दा योगासन मात्र होइन, योग नै इजिप्टबाट सुरु भएको मान्न सकिन्छ । किनकि, इजिप्टोलोजिस्टका अनुसार इजिप्टमा १० हजार वर्षअगाडि नै योग प्रचलनमा थियो ।
भारतको महाबलिपुरममा भेटिएको करिब १६ सय वर्ष पुरानो योगासनको मूर्ति
अर्काे महत्वपूर्ण कुरा के हो भने हामीले देखेका प्राचीनतम मूर्ति र चित्रहरूमा योगासन कतै पाइँदैन । क्रषिमुनिका चित्र र मूर्ति पनि योगासनका छैनन् । ध्यानका छन् । पतञ्जलिको अष्टांग योगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि उल्लेख छन् । पतञ्जलिलाई नै आधार मानेर योगासनको चर्चा गर्ने हो भने पनि २२ सय वर्षभन्दा अगाडि जाँदैन । उनीभन्दा करिब तीन सय वर्षअगाडिका गौतम बुद्धले कहीँ पनि योगासनको चर्चा गरेको पाइँदैन । उनका सम्पूर्ण, पद्धति, मान्यता र दर्शन ध्यानसँग नै सम्बन्धित छन् । वेद, रामायण र महाभारतजस्ता ग्रन्थमा योगासनको कहीँ पनि उल्लेख गरिएको देखिँदैन । तपस्याको मात्रै बृहत् चर्चा गरिएको छ । यी सबै तथ्यहरूबाट योगासनको उत्पत्ति भारतमा नभएको स्पष्ट हुन्छ ।
ध्यान भारतीय उपमहाद्वीपको हो
भारतीय उपमहाद्वीपमा ध्यानको परम्परा निकै नै प्राचीन रहेको ऐतिहासिक प्रमाणले स्पष्ट पारेका छन् । सिन्धुघाटी सभ्यतामा नै ध्यान प्रचलनमा रहेको थियो । सिन्धुघाटी सभ्यताका भग्नावशेषमा पाइएको मूर्तिमा पद्मासन स्पष्ट देखिन्छ । जसलाई आदि योगी भनिन्छ । पद्मासनमा बसेको आदि योगीको सिङ छ र उनका वरिपरि पशु छन् । जसलाई पशुपतिनाथ पनि भनिन्छ । यसको दार्शनिक अर्थ के हो भने पाशविक जिन्दगीबाट उठेर आध्यात्मिक जिन्दगीमा प्रवेश गर्न ध्यान आवश्यक पर्छ ।
मोहेन्जोदारो र हडप्पाको सभ्यतामा ध्यानका चित्र भेटिनु र इजिप्टको सभ्यतामा योगासनका चित्र भेटिनुले यसको उद्भव र ऐतिहासिकता स्पष्ट हुन्छ । समयक्रमसँगै दुवैको महत्व र आवश्यकताले योग र ध्यान एउटै सिक्काका दुई पाटाका रूपमा विकास हुन पुगे ।
दीर्घ जीवनका लागि योगासन
बुद्धले योगासन गरेको कहीँ कतै पाइँदैन । उनले ध्यान मात्र गरे । बुद्धजस्तो मुक्तात्मा ८० वर्षमा बिते भने निरन्तर योग गर्ने अयंगर ९१ वर्षमा बिते । ओशो रजनीश र जे कृष्णमूर्तिलाई मुक्त पुरुष मानिन्छ । ओशोले योगासन गरेनन् । उनी ५९ वर्षकै उमेरमा बिते । तर, कृष्णमूर्ति नियमित योग गर्थे । उनी ९० वर्षभन्दा बढी बाँचे । ३९ वर्षमा बितेका विवेकानन्द र ३२ वर्षमा बितेका शंकराचार्य दुवैले योगासन गरेको पाइँदैन । विपश्यना ध्यानलाई संसारभर फैलाउने सत्यनारायण गोयन्काले पनि योगासन गरेनन् । उनको शरीर अत्यन्तै मोटो थियो । उनी डाइबेटिज भएर बिते । नियमित योग गर्ने रामदेवलाई नै हेर्नुस्, उनी ६० आसपासका भइसके । यसबाट पनि योगासनको महत्व स्पष्ट हुन्छ । जसजसले योगासनलाई नियमित गरे, उनीहरूले दीर्घ जीवन पाएका छन् ।
योगासन र अन्य व्यायाम
नियमित योगासन गर्नु भनेको शारीरिक व्यायाम गर्नु नै हो । योगासन पनि दौडिनु, जिम गर्नु वा ब्याडमिन्टन खेल्नुजस्तो नै हो । स्वस्थ र तन्दुरुस्त रहन योगासन नै गर्नुपर्छ भन्ने छैन । बिहान कुनै न कुनै व्यायाम गर्ने हो भने शरीर स्वस्थ रहन सहयोग पुग्छ । तर, योगासन गर्नु र अन्य व्यायाम गर्नुमा केही पृथकता छ । अहिले प्रचलनमा रहेका योगासनमा आसनसँगसँगै प्राणायाम, ध्यान र मुद्रालाई पनि जोडिएका छन् । जसले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य रक्षामा पनि सहयोग पु¥याउँछ । अन्य व्यायाम गर्नेभन्दा योगासन गर्नेको आध्यात्मिक चेत माथि रहेको पाइन्छ । उदाहरणका लागि बिहान नियमित ब्याडमिन्टन खेल्ने मानिसले बेलुका मस्त मदिरा सेवन गरेको पनि पाउन सकिन्छ । तर, नियमित योग गर्ने मानिसले सामान्यतः मदिरा सेवन गरेको पाइँदैन । योगले चरित्र निर्माणमा पनि सहयोग पुर्याउँछ ।
योगासान प्रयोगका आ–आफ्नै शैली
अहिले अमेरिकामा भारतीय मूलका अमेरिकी नागरिक विक्रम चौधरीले योगमा तहल्का मच्चाइरहेका छन् । उनीसँग हलिउडका प्रसिद्ध कलाकार पनि योग सिक्न आउँछन् । उनले आफ्नो योग गर्ने तौरतरिकालाई ‘विक्रम योगा’ नाम दिएका छन् । त्यसै गरी, रामदेवले सिकाउने योग पनि ‘रामदेव योगा’का रूपमा प्रचारित छ । योग आसनहरूसँग सम्बन्धित एक त प्राचीनतम शास्त्र छैनन् । अर्काेतर्फ, यथेष्ट स्रोत–सामग्रीको पनि अभाव छ । जसले गर्दा हरेकले आ—आफ्ना शैलीअनुसार योगासन सिकाइरहेका छन् ।
योगको बजार
अहिले विश्वमा करिब सात अर्ब जनसंख्या छ । त्यसमा करिब ५० करोड मानिसले योग गरिरहेको बताइन्छ । यसरी हेर्दा विश्वका ७.१४ प्रतिशत मानिस योगमा जोडिइसकेका छन् । यसबाट नै योगको बजार कत्रो छ भन्ने स्पष्ट हुन्छ । आधुनिक अर्थशास्त्रको भाषामा भन्ने हो भने योगले उद्योगको रूप लिइसकेको छ । उदाहरणका लागि, योगासन गर्नका लागि प्रयोग गरिने म्याट (ओछ्याउने) नै ठूलो उद्योगका रूपमा स्थापित भइसकेको छ । अहिले विभिन्न कलेज र स्कुलले समेत योगलाई अवलम्बन गर्न थालेका छन् । युरोप, अमेरिकातिरका होटलहरूले योगलाई आफ्ना ‘अफर’भित्र राख्न थालेका छन् । यसरी हेर्दा योग समग्र विश्वमा नै एक सामथ्र्यपूर्ण संस्कृति बन्ने निश्चित छ । राम्रो अनलाइनबाट सभार
Leave a Reply