आज कृष्ण जन्माष्टमी

आज कृष्ण जन्माष्टमी अधिकांश हिन्दुहरुको एक प्रमुख उत्सव त्यसमा पनि बैष्णव धर्मावलम्वीहरुको बिशेष । कृष्ण भक्तिको लहर यति बढेको छ कि हिन्दु अहिन्दु गरेर कृष्णलाई भगवानको रुपमा पूज्ने सबैभन्दा बढी पुगेको छ । हिन्दु देवी देवतामा सबैभन्दा बढी अर्थात करिव ६५ करोडले कृष्णलाई मान्दछन् । के साच्चै हाम्रा आख्यानहरुले वर्णन गरे झै कृष्ण सर्वशक्तिमान भगवान हुन् त ?

हाम्रा आख्यानहरुमा वर्णित कथा अनुसार कृष्णको जन्म इशा पूर्व ३२२७ को भाद्र कृष्ण अष्टमी अर्थात इ.पू ३२२८ जुलाई १८ मा भएको थियो । तर कृष्णलाई भगवानको रूपमा मान्दै कृष्ण भक्तिको लहर सातौ शताव्दीमा तमिलनाडुबाट शुरू भएको थियो । यसरी फैलिदै गएको कृष्ण भक्तिको लहर राजा सिद्धिनरसिंह मल्लले बि.सं. १६९४ को भाद्र ३ गते कृष्ण मन्दिर तैयार गराइ जन्माष्टमीको पूजा आरम्भ गरे देखि नेपालमा पनि ब्यापक भएको थियो । युरोप अमेरिकामा १९ औ शताब्दीमा कृष्ण भक्ति प्रबेश पाएको अनुमान गरिए पनि स्वामी प्रभुपादले बि.सं. २०२३ असार १३ गते न्यूयोर्कमा ISKCON खोलेपछि बल्ल अमेरिकामा कृष्णभक्तिले ब्यापकता पाएको थियो ।

कृष्ण सम्बन्धी आख्यानहरुले कृष्णको चरित्रलाई विवादमा पुर्याउने गर्दछ । आखिर के साच्चै कृष्णको कथा यि पुराण वा आख्यानहरुमा लेखिए जस्तै थियो ! यसमा विश्वासिला तथ्यहरु नै भेटिदैनन् ।

कृष्णको बारेमा ऐतिहासिक तथ्य खोतल्दा पहिलो पटक कुषाण कालको इतिहासमा पुग्नु पर्दछ । मौर्यकालमा सिद्धार्थ गौतमको बुद्धत्वको प्रचार हुँदै थियो । भारतवर्षमा बुद्ध प्रतिको भक्ति शिखरमा थियो । मौर्यको समय पछि कुषाणवंशका राजा कनिष्कको समयमा कृष्णको चर्चा हुन थाल्यो । कृष्णका बिभिन्न कथा बुनिन थाले । उनका मूर्तिहरु बन्न थाले । वास्तवमा कृष्ण कस्ता थिए वा उनको जीवनचर्या कसैलाई थाहा थिएन । कुषाणकालमा बनेका कृष्णका मूर्तिहरुबाट नै कृष्णका परिकल्पनाहरु बन्न थालेको थियो ।

हिन्दू प्रायद्विपमा आर्यहरुले आफ्नो प्रभुत्व जमाउन शुरु गरेपछि यिनीहरु बिभिन्न आख्यानहरुलाई पुराणको रुपमा लेख्दै गए । भारतवर्षको इतिहासको रुपमा लेखिएको काब्यमा बिभिन्न समयमा बिभिन्न राजाहरुले आफूलाई उच्च सावित गर्न परिमार्जित गर्दै गए । ५०० भन्दा बढि लेखकले करिव १००० वर्षको अवधिमा गरिएको बिभिन्न परिमार्जन पछि बल्ल आजको महाभारत तैयार भएको थियो । कतिपयले बेदब्यासलाई मात्र यसका लेखक भन्ने गर्दछन् जुन सत्य होइन । पाँचौ शताव्दीमा लेखिएको गीतालाई महाभारतको भिष्म पर्वमा राखियो । गीताका वास्तविक रचनाकार अझै पनि अज्ञात नै छ ।

पहिलो शताव्दीमा शुरुवात गरिदिएको कृष्णको कथा महाभारतमा गीताको प्रबेशले अझ बढी कृष्णको अनुयायी बढाउन मद्दत पुग्यो । तर त्यहाँ एउटा भिन्नता थियो । कुषाणकालको कृष्ण, कृष्ण बासुदेवको रुपमा थियो । तर पछि गुप्तकालमा बर्णित कृष्ण, कृष्ण गोपाल थियो । गुप्तकालमा कृष्णको अनुयायी बढ्दै गयो । कृष्णको कथा पनि बन्दै गयो । दशौं शताव्दीसम्म आइपुग्दा महाभारतमा एउटा अर्को पुराण थपियो जसलाई भागवतपुराण भनिन्छ । जसलाई धेरैले श्रीमदभागवत भन्ने गर्दछ । यो पुराण खासगरी कृष्णको गाथाहरुलाई अझ बढी जनमानसमा पुर्याउनको लागी नै लेखिएको थियो । बाह्रौ शताव्दीमा जयदेवले एउटा कृति रचना गरे गीतगोविन्द । यो साहित्यिक कृति थियो तर यहाँ वर्णित चरित्रहरुकै कारण कृष्णको रासलिला तथा राधाको जन्म भयो । वास्तवमा राधाको जन्म भएको भन्ने कहि उल्लेख नै छैन । तर गीतगोविन्दले उनको प्रेमिकाको चरित्र बनाइदियो । पछि सुरदासको रचना सुरसागरले अझ बढि राधाको वर्णन गरिदियो । राधा जसको जन्म एउटा कृतिमा भएको थियो उनको अचेल त काल्पनिक जन्मदिन पनि धुमधामले मनाउने गरिन्छ । यो हाम्रो आस्थाको अन्धभक्ति हो ।

नेपालमा कृष्णको उल्लेख पाटनका राजा सिद्धिनरसिंह मल्ल पछि अत्यधिक आउछ । यस पछि त पाटनमा ढलोटका बिभिन्न किसिमका कृष्णका मूर्तिहरु बनेको उल्लेख गरेको भेटिन्छ ।

समग्रमा देवभक्ति भनेको नै एउटा आस्था हो । यहि आस्थाले नै हामीमा जीवनको यात्राको गतिशिलतालाई लय दिन्छ । यदि यसरी भगवानको चर्चा परिचर्चा पुराण तथा आख्यानहरुमा नहुदो हो त हामी लगाम विनाको घोडा झै जथाभावी दौडन्थ्यौ । यहि भगवानको नामको त्रासले नै हामीलाई लयबद्ध बनाएको छ ।

तस्विरमा हालसम्ममा भेटिएको मूर्तिहरुमा सबैभन्दा पुरानो कृष्णको मूर्ती हो । अन्दाजी तेश्रो शताव्दीको मानिएको यो मूर्ति कुषाण कालको अन्त तिरको मानिएको छ । यसमा कृष्णले केशी नाम गरेको राक्षस घोडालाई मार्दै गरेको देखाइएको छ ।

About Everest News 782 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*