टीका अनि विजया दशमी

आखिर विजया दशमी शब्दले नै एउटा अर्थ दिन्छ यस दिन विजय भएको हुँदा विजया दशमी भनिएको हो । आखिर विजय कसले, कहाँ र कोसंग गरे भन्नेमा भने बिभिन्न आख्यानहरु प्रचलित छन् ।

महिषासुर नाम गरेका राक्षसलाई दुर्गाले विजय गरेको एउटा आख्यान छ भने अर्को रामले रावण माथि विजय अभियान यसै दिन गरेको आख्यान पनि प्रचलित छ । यि दुइ आख्यान पुराण र रामायणका कथा हुन । तर तेश्रो इतिहासमा उल्लेख भएको भनिएको भने पृथ्वीनारायण शाहको विजय अभियान हो । बि.सं. १८०० मा नुवाकोट आक्रमणको प्रयास बिफल भएपछि १८०१ को आश्विन शुक्ल दशमीको दिन आमाको हातबाट अक्षताको टीका र आशिस बोकेर नुवाकोट आक्रमण गरि विजय प्राप्त भएको हुँदा आश्विन शुक्ल दशमीको दिन आसिस सहित अक्षताको टीका लगाउने चलनको शुरुवात भएको पनि भनिन्छ । यसर्थ अक्षताको टीकाको शुरुवात पृथ्वीनारायण शाहबाट नै भएको भन्ने आधार भेटिन्छ । अक्षताको टीका केवल नेपालको हिन्दुहरुले मात्र लगाउने हुँदा पनि शास्त्रमा अक्षताको टीका लगाउने उल्लेख नभएको जिकिर गर्न सकिन्छ । यदि शास्त्रमा उल्लेख गरिएको हुँदो हो त भारतीय हिन्दुहरुले पनि अक्षताको टीका लगाउनु पर्ने थियो । चन्दनको टीका लगाउने प्रचलन भारतीय हिन्दुहरुमा भेटिनु तर नेपालको हिन्दुहरुले भने खानुपर्ने अन्न चामलमा मुछेर टीका बनाउनुको कुनै बिशेष आधार भेटिदैन ।

पृथ्वीनारायण शाहको एकिकरण अभियानसंगै हारेका राज्यका जनताहरुलाई पृथ्वीनारायण शाहले नियुक्त गरेका वडाहाकिम सुब्बा वा उच्चपदस्थहरुलाई दर्शन गर्न जानुपर्ने नियम बनाए । जसले पृथ्वीनारायणका रैतीहरु हुन् भन्ने सावित गराउन चाहन्थे । पूर्वमा किराँत राज्य विजय गरेपछि बि.सं. १८३१ मा सम्झौता गरि सुवांगी प्रथाको शुरुवात गरेका थिए । जस अनुसार लिम्बुहरुलाई सुवांगी पद दिए जसले गर्दा सुब्बा भए । खम्बुलाई किपट उठाउने जिम्मा दिइ राई भए । सुनुवारहरुले मुखिया पद पाए । याक्खाहरुलाई देवान पद दिए । यसरी पाएको पद नै पछि थर कायम भयो । यसरी सुवांगी प्रथाको शुरुवात संगै रैतीहरुले दशमीको दिन कोसेली बोकेर सुवांगीसंग आशिर्वाद लिन जानुपर्ने नियम बनाए । यहि नियम नै अहिले ठूलाबडा कहाँ टीका थाप्न जाने प्रथा बन्यो ।

टीकामा अक्षताको उपयोग

आखिर चामलको उपयोग नै किन ? केही वर्ष अगाडी एउटा तथ्य सामुन्ने आएको थियो । त्यहि तथ्यलाई नै आज पनि स्विकार गर्ने हो भने दशैको टीकाको दिन नेपालीहरुले ४३ लाख माना चामल टीका लगाएर फाल्ने गर्दा रहेछौ । यो तथ्यलाई हेर्दा करिव १७ हजार २०० क्विन्टल चामल हुन आँउछ । एक नेपालीले वर्षमा ११० किलोग्राम चामलको भात खाने विश्व खाद्य संगठनको तथ्यलाई केलाउँदा हामीले एक दिन टीका लगाएर करिव १५६३६ नेपालीलाई एक वर्ष पुग्ने चामल एकैदिनमा टीका लगाएर फेक्ने गर्दोरहेछौ । के हामीले अक्षता विनाको टीका मात्र लगाउने अभियान चलाउन सक्दैनौ र !!!

टीका लगाइदिँदा पुरुष भएमा यस किसिमको आसिस दिने गरिन्छ ।

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।

सौर्य शान्त नभे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अष्टचिरन्जिवी मध्यका द्रोणको जस्तो आयू होस, दशरथको जस्तो किर्ती होस, नहुष राजाको जस्तो धनसम्पती होस, पवनको जस्तो गति होस, दूर्योधनको जस्तो मानसम्मान होस, आकाश जस्तो शान्त होस, बलरामको जस्तो बल होस, युधिस्ठिर जस्तो सत्यवादी होस, विदुरको जस्तो ज्ञान होस, नारायणको जस्तो कीर्ति होस । यति लामो श्लोकमा निरोगी रहोस भन्ने नै छैन । जबसम्म मानिस निरोगी हुदैन, संसारको सबै चिज आफूसंग रहे पनि खास महत्व हुदैन । तसर्थ यति लामो श्लोक भन्दा छोटो सुस्वास्थ्य र धनधान्य होस भन्नु सहज हुन्छ । किनकी सबैभन्दा महत्वपूर्ण नै सुस्वास्थ्य हो ।

यता महिलाहरुलाई भने अर्कै श्लोकमा टीका लगाइ आसिस दिने गरिन्छ ।

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते ।।

दुर्गा सप्तशतीमा रहेको यो श्लोक वास्तवमा देवी दुर्गाको स्तुति हो । देवी दुर्गालाई ११ किसिमले वर्णन गरिएको छ । सधै जीत हुने, मंगल हुने, काललाई पनि जीत्ने, जन्म र मृत्यु बिचको, नरमुंडको माला लगाउने, दुखको नाश गर्ने, सबैलाई क्षमा दिन सक्ने, सदा शुभ सोच्ने, सबैलाई पालन गर्ने, सबैलाई स्वाहा भनेर चढाएको दुर्गालाई नै प्राप्त हुने, पितृलाई चढाएको पनि अन्तमा ग्रहण गर्ने । अब यो श्लोकले महिलालाई कसरी आसिस हुन सक्ला । समग्रमा महिलालाई के दुर्गा जस्तै होस भन्न खोजिएको हो त ! यदि त्यसो हो भने यो श्लोक अधुरै रहेको छ । यसमा केही थप्न पर्छ । अन्यथा सुस्वास्थ्य होस र घर धान्न सक्ने होस भनियो भने छोटोमा नै पूर्ण हुन्छ ।

नेवाः समाजमा दशमी

दशमीको दिनलाई नेवाःहरु चालं वा चालं क्वकायेगु भन्ने गर्दछन् । नवमीको दिन स्थापना गरि पूजा गरिएको कुभिन्डोलाई घरमा रहेको खड्ग वा खुकुरीले काट्ने गरिन्छ । यसरी कुभिन्डो काट्ने कार्य कसैले जहाँ स्थापना गरिएको हुन्छ, त्यही परिवारका सदस्यहरु पालो पालो गइ मार हाने झै काट्छन भने कसैले मुख्य कोठाको बिचमा राखेर तीन पटक घुमेर सबैभन्दा जेष्ठ सदस्यले काट्ने गर्दछ । खड्ग प्रयोग गरेर हत्याको अभिनय गर्नु पनि शक्ति संचयको तान्त्रिक कार्य भन्ने गरिन्छ । यसले नराम्रो कार्यको अन्त गरि जीवनमा सफलताको शुरुवात हुने मानिन्छ । तर यसलाई पछिल्लो समयमा दुर्गाले रक्तविजलाई मारेको प्रतिक हो पनि भन्ने गर्दछन् ।

यसपछि ज्यावल तथा पुस्तकहरु परिवारका सदस्यहरु एक एकलाई दिने गरिन्छ । यो अब दश दिन लामो चाड समाप्त भयो । गलत तत्वहरुको नाश पनि गरियो अब आफ्नो दैनिक जीवनमा फर्कनका लागि बिद्यार्थीहरुलाई पुस्तक तथा कामदारहरुलाई ज्यावल दिइएको हो ।

अब नराम्रा कुराको अन्त्य भइसकेको हुँदा अबको दिनमा सफलता हासिल होस भनेर नवमीको रात तान्त्रिक शक्तिले थापिएको मोहनी सिन्ह लगाइदिने गरिन्छ । साथै घटस्थापनाका दिन लगाइएको नःला स्वाः पनि शिरमा लगाइदिइन्छ । अन्य जातिले पनि नेवाःहरुको देखासिखि घटस्थापनाको दिन रोपिएको नःला स्वाः (जमरा) निकालेर रातो टीका लगाइदिने र जमरा राखिदिने गरिन्छ । नेवाःहरुमा रातो वा सेतो रङको “क्वखा“ अर्थात कपडाको धजा पनि लगाइदिने गरिन्छ । यस दिन लगाइने बिशेष टीकाका कारण नै यस पर्वको नाम मोहनी भनिएको हो । यसरी टीका थाप्न भने परिवारका जेष्ठ सदस्यहरुकोबाट थाप्न प्रचलन रहेको छ । पारिवारिक सदस्य भन्दा अन्यसंग टीका थाप्ने चलन भने नेवाःहरुमा छैन ।

यस्तै कतिपय समाजमा यहिँ खड्ग बोकेर पायाः अर्थात खड्ग जात्रा निकाल्ने पनि गरिन्छ । पायाः लिच्छवीकालमा राजा नरेन्द्रदेवको समय देखि निकाल्न थालिएको भन्ने गरिन्छ । खड्ग बोकेर परिक्रमा गर्नु वीरताको प्रतिक हो । हामी कसैसंग डराउँदैनौ भन्ने जनाउन खोजिएको हो । पा शव्द नेवाः भाषामा मार हान्नेलाई जनाउँछ । तसर्थ मार हान्न सक्नेहरु मार हान्ने हतियार नै बोकेर याः अर्थात यात्रामा निस्कनु वा जात्रा निकाल्नु भनेको आफ्नो हतियारको प्रदर्शन पनि हो । यसका साथै सिद्धि प्राप्त खड्ग राजासंग साटेर राजालाई पनि वीर बनाउने समेत गरिन्थ्यो । पछि खड्ग जात्रामा रमाइलो पक्षका रुपमा बिभिन्न नाचहरु पनि नचाउन थालेको हामी पाउँछौ । शुभसाइतमा खड्ग स्थापना गरि दशमीको दिन शुभसाइतमा खड्ग चालः गर्ने र पाया निकाल्ने गरिन्थ्यो । बाह्र वर्षमा पचली भैरव नृत्य र भद्रकाली नृत्यमा राजासंग खड्ग साट्ने गरिन्थ्यो । खड्ग देशमा गणतन्त्र आएपछि खड्ग साट्ने क्रममा भने महत्व निकै घटेको हामी पाउँछौ ।

साथै साना साना राज्यहरु रहेको समयमा एक अर्कासंग बैमनस्यता रहेको समय अष्टमी वा नवमीमा हतियार पूजा गरेर दशमीको दिन टीकाका साथ दिर्घायुको आशिष दिएर त्यहि हतियार बोकेर युद्धभूमीमा जाने पनि गर्दथे । यसरी यो दशैको दश दिन शक्ति संचय गर्ने र दशमीको दिन युद्धभूमीका लागि निस्कने पनि गरिन्थ्यो ।

महिषासुर मर्दिनीको कथा भने पछि गाँसिएको हो । मातृशक्ति अर्थात महिलाको आधिपत्य बढि भएको समयमा पुरुष युद्धका लागि आउँदा नारीको विजय भएको कथा नै अहिले दुर्गा माताको कथा बनाइएको र शत्रु पक्षलाई राक्षस वा महिषासुरको रुपामा चित्रण गरिएको हो । अर्को अर्थमा भन्ने हो भने सत्यको पक्षमा रहेका माजुसंग असत्यको लडाइ भएको र सत्यको विजय भएको प्रतिकका रुपमा पनि दशमीको दिन रहेको हो । सुनिल उलाकको वालबाट

About Everest News 771 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*