हाम्रो प्रहरी

६ माघ, ललितपुर । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पाटन दरबार स्क्वायर ललितपुरमा सोमबार आयोजित विशेष समारोहबीच ‘हाम्रो प्रहरी : नेपाल प्रहरी’ कार्यक्रम-२०८२ सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिका वडा नम्बर १६ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुरक्षा अमनचयन कायम राख्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै अपराधरहित शान्तिपूर्ण समाज निर्माणका लागि नागरिक र प्रहरीको सौहार्दपूर्ण साझेदारी आवश्यक रहेको बताउनुभयो । कुनै पनि आपराधिक गतिविधिको सूचना प्रहरीलाई दिई अपराधीलाई ‍कानुनी दायरामा ल्याउन सबैले आ-आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले जोड दिनुभयो । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिई नागरिक प्रहरी सहकार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रहरी सदैव प्रयत्नशील रहेको उहाँले बताउनुभयो ।

ललितपुर महानगरपालिकाका ‍प्रमुख चिरीबाबु महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व र औचित्य बारे जानकारी दिनुभएको थियो ।

सो अवसरमा मदन कृष्ण श्रेष्ठ, किरण केसी, प्रमोद खरेल, दिपक बज्राचार्य, आस्था राउत, आनन्द कार्की, निशा देशार र यमनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरूले साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालय तथा कुटुम्ब ब्याण्डबाट संयुक्त रूपमा ब्याण्ड डिस्प्ले, प्र्याङ्क स्टार एलिश राईको टिमबाट लागूऔषध सम्बन्धी जनचेतनामूलक नाटक, नेवा नृत्य, चर्या नृत्यु तथा आमा म त खरानीबाट उठेर आए गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । स्रोत: नेपाल प्रहरी

About Everest News 872 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*