आबुई ! कोरोना कहरको साइकोलोजी असर ।

 नारायण प्रधान
जेठ ११, काठमाण्डौँ । खै आज किन एक्कासी दिल खोलेर हास्ँन मन लाग्यो । कुनै हासोँ लाग्दो चुट्किला सुनेको पनि छैन न कुनै कमेडीको असर परेको पनि हैन ।
उफ ! घर बस्दा बस्दा अब त बुढो नै भइन्छ की जस्तो लागिसक्यो । हेर्दा हेर्दै समय बितेको अतोपत्तो छैन । हुन त यत्रो दिनमा त्यस्तो केही अच्चमको कुरा पनि गरेको हैन ।

मेरो मात्र स्थिती यस्तो त नहोला सबैका कथा ब्यथा आखिर सुन्ने र सुनाउने हो भने पक्कै सबैले जिब्रो टोक्दै “ओहो ! साँच्ची समय त कति छिटो बितेछ है ।” भनेर सुनाउँदोहोला ।

समयको चाल आफनै रफतारमा छ अनि हामी उही आफनै रफतारमा अलङ्ग पलङ्गमा मस्त र ब्यस्त । कानो गोरुलाई औसि न पूर्णे । रेकर्ड राख्ने कुरै भएन ।

अँ साच्ची हासोँको कुरा गर्दैथे क्यारे म । लकडाउनमा निस्सासिएको दैनिकि र अवस्था देखेर मलाई सारो हासँ उठ्ेको मात्र हो । गाईज फेरी म यहाँ अफेन्सिभ हुन खोजेको भने हैन है ।

म त केबल आफनै लाइफ ड्यामेज भाको देखेर चाहीँ मुर्छा परिपरि हास्नँ मन लागेको कुरा गर्दैछु । मलाई मात्र हैन । सबलाई यस्तो तर्क नआको होला भन्न सकिन्न ।

लौ जा आज दिल खोलेर हासिँदिए । बास्तबमा भन्नुपर्दा मेरो हासोँमा रिस, घृणा र दिक्दारीपनाको मिश्रण थियो ।
कोरोनाले निम्तयाएको परिणाम प्रतिको लाचारिता र बिबशताको पराकाष्ठालाई चाहेर पनि उल्लङ्घन गर्ने हिम्मत ममा रतिभर छैन ।
अनि हिस्स बुढि खिस्स दाँत भनेझै नहासेँर भो त । रुन पनि के लाई बेकारमा ? अनि हास्न्ाँु सिवाय अरु केही लछारपाटो लाउन सकिएन बाबै ।

तपाईहरुलाई जस्तै मलाई पनि वाक्क दिक्क लागिसकेको होला है ? सुरुवाती समय घर भरिको सबै काम गरेर टोपलेकोथे ।
अब त काम पनि केही बाँकि रहेन । सायद तपाईहरु पनि काम नपाएर बेरोजगार झै हुनभाको हो की कुन्नी ? यसो रमाइलो गर्दिम न त भनेर साथी भाइहरुले रिकमेन्डेशन गरेका सिरिज, फिलिम भए भरको भ्याएर खालीभाको अवस्था ।

फिलिम पनि कति हेर्नु । चिनी पनि बढि खायो भने तितो हुन्छ भन्छन् । उस्तै उस्तै भाको छ । सुत्नु कति सुत्नु । च्याटमा कति कुरा गर्नु ? नयाँ नौलो केही छैन ?

सुत्ने र उठ्ने कुनै टुंगो नै छैन । दिउँसो मज्जाले सुतिन्छ र रातभरी जागा । अच्चम त यो छ की सुत्दा र उठ्दा जिउ किन दुख्छ ?
धन्न ए ! कति सुत्न सक्छ यो भनेर घरकाले कसैले पनि भनेका छैन अहिले । बरु काम नपाए उल्टै सुत भनेर सुझाउँछन् ।

म पनि के कम मज्जाले सुतिदिन्छु । अब त दिन कटाउन बडो अप्ठेरोमा परेको अबस्थामा पो छु त म । लौ न केही सल्लाह सुझाब भए आभारी हुने थिए हजुर । पहिला पहिला घरमा बस्न नपाएर दिक्क लाग्थ्यो काम काम, कति काम गर्नु भन्ने जस्तो लाग्थ्यो अब त्यही काम नभएर कता जाम र के गरम उकुसमुकुस भाको छ । हे दैब मेरो कल्याण गरिदिनुपर्यो ।

म आफै साइको भाको हुँ झै लाग्न थालेकोछ । कोरोना महामारीको यो अबस्थामा हामीहरु सबै मानसिक रुपबाट नराम्ररी पिडित भइसकेकाछौँ । अनिश्चित समय र परिस्थितिको बन्दिको रुपमा चिडियाघरमा झै थुनिनुपरेको कारण सबैमा मानसिक समस्याहरु लगभग आइसकेको छ । दिनहुँ जसोको एउटै रुटिन र एकै ठाउँको नियमित बसाइका कारण यस्ले क्रमश: हामी सबैलाई पिरोल्न थालेको छ ।

म आफै पनि कतिपय साना तिना कुराहरुलाई लिएर दिक्दार अनुभूति गर्न थालेकोछु । कतै मेरो मगज त खुस्किन लागेको हैन ? भन्ने भान नआएको होइन । म आफै पनि नियमित रुपले शारिरीक व्यायम र योगा अभ्यासका हर्कत गरिरहेको हुन्छु तथापी खै किन हो ? बेला मौकामा दिमागमा के चल्छ चल्छ वा दिमागले कामै गर्दैन कि जस्तो पनि लाग्छ ।

मलाई मात्र यस्तै हो की तपाईहरुलाई पनि यस्तो तर्कना आउँछ कुन्नी ? दायाँ बायाँ, वरपर हेर्दा मलाई त उस्तै उस्तै लाग्छ । अब हिजो साझँपखको घटनालाई लिउ न पल्लो घरको छिमेकी दाजु कौसीमा उक्लेर कौसी खेतीमा पानी हाल्दै मलाई पुलुक्क हेरेर फिस्स हासेँ ।

चिया लिएर भाउजु टुप्लुक्क कौसीमा उक्लिइन । मलाई देखेर भन्न लागिन बाबु चिया पिउनुभयो त ? मैले प्रत्युत्तरमा छैन भाउजु कौसी बढार्न लाको भनेर हातको झाडु तेर्साए । हेर्नु न बाबु आज त फेरी कति नयाँ कोरोनाको बिरामी थपेछन नी थाहा पाउनु भो ?

हे राम ! लौ मान्छे पनि मरेछ । झन झन पो बढ्दैछ रे ! दाजु चियाको चुस्कि लाउँदै गर्दा उनको अनुहारमा एक किसिमको डरले डेरा जमाइसकेकको थियो । सायद उनी लुकाउने कोशिस गर्दै थिए क्यारे । दिनहुँको संक्रमण र कोरोनाको कारणले मृत्यु हुनेको संख्याको दिनहुँ लेखाजोखा गर्ने र जिब्रो टोकेर कठै बरा गर्ने आदत यो नियमित भइसकेको छ ।

टोल छिमेकाहरु साझँ बिहान कौसी उक्लेर यसो बात मार्दा रोगको संक्रमण र जोखिमबाट कसरी बच्ने भन्दा पनि बढि जनगणना गर्नमा ब्यस्त भेटिन्छन् । सुरक्षाको दृष्टिकोणले निकै नै सर्तकता अपनाउनुपर्ने अबस्थामा तरकारी बजार, किनमेल गर्ने किराना पसल, मासु पसल र दुध डेरीमा जनमानसहरु सर्तकताको साटो मज्जाले उभिएर गफिएको दृश्यहरुले केही समयका लागि खोलिएका लकडाउनको समयलाई निकै रोमाञ्चक बनाइराखेको देखिन्छ ।

शारिरिक दुरी कायम गरौ भन्ने अबस्थामा नजिकै टासिँएर बिना माक्स भाषण छाटिँरहेकाहरुलाई देख्दा लाग्छ । यी महाशयहरुलाई त पक्कै कोरोनाले छुदैन है । प्रतिकुल अबस्थामा बलियो मनस्थिति कायम राख्न आफैमा निकै चुनौतिपूर्ण हो तथापी यो आफैमा एक प्रतिस्पर्धा जस्तै हो ।

मैले नबुझेको कुरा चाहीँ मानिसहरुलाई आबश्यक काम बाहेक वा निश्चित समयको किनमेल समय पश्चात प्रहरीद्धारा घरमै बस्नु । समाजिक दुरी कायम राख्नु भन्दै सिठ्ठी फुकेर दिनहुँ उर्दि जारी गर्दा समेत किन चेत नभएको होला ?
संक्रमणको जोखिमका बाबजुद महाशयहरु निष्फिक्री डुल्न मस्त र ब्यस्त छन् । काम नपाएको बेला लौरो तेसाउर्दै प्रहरी दाजुहरु घर घर बस्नु भनेर डिउटी गर्नु परेको देख्दा गज्जबको टाइम पास पनि भएको छ वहाँहरुलाई ।

दिनानुदिनको महामारीको उग्र रुपले गर्दा भयाबहको स्थितिमा मानिसहरु मानसिक रुपले बिक्षिपत भएका छन् । कोरोनाको कहरले आज भन्दा भोली र भबिष्यमा आउन सक्ने भोकमरी, सामाजीक अपचलनका घटनाहरुलाई लिएर अनेकन धारणाहरु कौसि गफगाफमा प्रशस्त भेटिन्छन् ।

हुन पनि हो यो आफैमा जटिल हुने अबस्था नआउला भन्न सकिन्न । कोरोना लागे पश्चात ब्यक्तिगत रुपमा त शारिरिक र मानसिक प्रभाब छँदैछ तथापी अकल्पनीय सामाजीक बिभेद र भेदभाव अर्थात कोरोना निको भएपछि समाजमा पुर्नस्थापनामा गहिरो छाप पर्ने देखिन्छ ।

यदि कुनै टोलमा कोरोनाको संक्रमण देखिएमा उक्त टोल सिल हुने गरेको र सर्बसाधरणहरुमा त्यस्को प्रभाब अत्यन्त गहिरो पर्ने प्रबल सम्भावना पनि छ । यहाँ त रोग लाग्नु भन्दा पुर्व नै मानबिय संबेदनाहरु मुर्छा पर्ने गरेका छन् । अब आफैमा यो कतिको लागु भएको छ हालको सन्दर्भमा आफैलाई नियाल्दा बेस होला ।

बास्तबमा भन्नुपर्दा जो कोही पनि मानसिक रुपले ग्रसित देखिन्छन् बर्तमान परिप्रेक्ष्य र भबिष्यमा निम्तिन सक्ने परिणामलाई मध्यनजर गर्दा अब के होला ? भोलीको समयमा बेरोजगारीको चरोमत्कर्षमा पुग्ने देखिन्छ । बिदेशबाट आएका वा आउने युवा वर्गलाई ब्यवस्थापन गर्न मुस्किल पर्ने अबस्था छ ।

अपर्याप्त स्वास्थ्य परिक्षणका सामाग्रि र दक्ष तालिम प्राप्त स्वास्थ्य जनशक्तिको अभावले गर्दा कोरोना उपचारको बिश्वसनियतामा समेत प्रश्न उठ्ने गरेकोछ । भोली गएर यदि म आफै पनि अस्पतालमा क्वारेन्टाइनमा बस्नु पर्ने भो भने मेरो उपचार कसरी होला भन्ने सन्त्रास आफैमा परेको छ ।

बेला बखत समाचारमा आएका बिषयबस्तु र नेपालका स्वास्थ्यका पुर्वाधारहरुको मुल्याङ्कन गर्ने हो भने पनि सम्झदा नै दिक्दारी लागेर आउँदो हो । अनि लाग्छ मेरो परमधामको टिकट पक्का काटिनेछ ।

यही कारणले मेरो गोडा थरथर काम्ने गर्छ । डरले मनको घरमा जमाएको डेराले सात्तो पुत्लो कता कता उडेको अबस्थामा यस्लाई तिलको पहाड बनाएको हो की भन्ने नलागेको पनि हैन । अब समय र परिस्थिती नै यस्तो के होलाको छ त बनको बाघले खाओस की नखाओस मनको बाघले खाने हैन पुरै निलेको जस्तै जस्तै भएकोछ ।

यो समय हामीलाई कोरोनासँग लड्नका लागि उत्प्रेरणाको टड्कारो आबश्यक्ता मैले गहिरो रुपमा महशुस गरेको छु । यस्तो बेला हाम्रो अभिभावकले कस्तो पाठ पढाइराखेको छ ? वा भनौ वास्तवमा हामीलाई कोरोना बारे कतिको सहि जानकारीहरु दिइएको छ त्यस्ले आगामी दिनहरुमा हामीहरुलाई कोरोना बिरुद्ध कसरी लड्ने र यस्लाई कसरी बिजय प्राप्त गर्ने भन्नेबारे अभ्यस्त बनाउन नसक्नु हामी सबको कमजोर मानसिकताको उपज हो ।

हुन त रोग लाग्न नै नदिनु पहिलो प्राथमिकता हो तर यदि केही गरि रोग लागेको खण्डमा रोगसँग लड्न र त्यस्लाई सहर्ष स्विकारी क्वारेन्टाइन र आइसोलेसनमा बसि बिरामीको उपचार गर्नका लागि बिशेष रुपबाट परिवार र ब्यक्ति स्वयंबाट नै पहल गरिनुपर्छ ।

यस्का लागि बिरामीको आत्मबल बढाउनका लागि प्रोत्साहनको टड्कारो आबश्यक्ता जरुरी छ । हो हामी कमजोर परिस्थितीमा बलियो मनस्थिती राखेर बढ्नुमा नै आफैमा साहसीक कार्य हो । यस बेलामा गम्भिर र दिमाग चलाउने प्रकृतिका बिषय, दृश्य सामाग्रीहरु हेर्नु सुन्नु भन्दा रमाइलो हुने र हासोँ उठ्ने खालका कुराहरुलाई प्राथमिकतामा राख्दा मानसिक स्वस्थ्यमा राम्रो हुने देखिन्छ ।

टिकटक बनाउने , युट्युबमा रमाइला कमेडी फिल्म तथा कार्यक्रमहरु ह्ेर्नाले ताजगी आउने देखिन्छ । यस्तै अच्चमका कुराहरु हेर्दै रमाउनाले पनि केही हदसम्म फाइदाजनक नै हुने देखिन्छ । अब यस्ता चिजबिजका भण्डार हामीमा प्रश्स्त नै छन् ।

पेट मिचि मिचि हास्ँने हो, मज्जाले बाच्ँने हो । मैले जो बुझेका र केही लागेका मेरो यो रामायणमा यहाँहरुको पनि बिचार आइदिए मेरो लागि त खुबै काम लाग्ने थियो । गाईज यो बेला यो त्यो भोलीको बारेमा सोच्नु भन्दा बढि आजमा रमाउने हो ।

बाले सधैँ भन्नुहुन्छ, “जिउ रहे घिउ खाउँला ।” अब त त्यही घिउ खानकै लागि भएपनि बाच्नुँ त पर्यो नी हैन ? त्यसैले साबुन पानीले हात धोको धोकै गर्ने , खोक्दा र हाछँयु गर्दा नाक र मुख छोप्ने । पानी नियमित पिइरहने नत्र डिहाइडे्रसन हुन सक्छ है ?

मानसिक स्वास्थ्यलाई ध्यान दिने र सुरक्षित ब्यबहार अपनाउने हो । ल साथी हो, बाले कौसी खेती गर्दैछन् । असारमा धान रोप्नुपर्छ भन्दैछन् जे होस घरैबाट सानो तिनो भए पनि कृषि क्रान्ति सुरु गर्नुपर्ला ।

लागीराकोछ मलाई म ठुलै काम गर्ने वालाछु । मलाई चाही नियमित फुल र बिरुवामा पानी हाल्ने डिउटी दिएका छन नत्र भान्सामा छिर्नलाई अलिक मुश्किल नै छ । भएको यहि एउटै जागिरले खान दिएको अहिलेको अबस्था ।

“अहिले रोपिस भने भबिष्यमा खान पाउलास ।” रोपेको टमाटार,खुर्सानी र बोडी कहिले फल्ने हो ? कुरिराको छु । ब्यग्र प्रतिक्षामा ।
अनिकालमा बिउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु भन्दै बा लकडाउनमा बिउ जोगाउन डिउटीमा मलाई खटाउने गर्नुहुन्छ । यस्तै जीउ जोगाउनलाई त घरबाट बाहिर निस्कनै दिएका छैनन ।

झनै सजिलो बालाई । बेला मौकामा बाको पुराण मज्जाले ध्यान दिएर सुन्दैछु । बाका प्रबचन आफैमा यति भयङ्कर छन् की लाग्छ महाकवि लक्ष्मी प्रसाद देवकोटाले भन्दा ठुलो खण्डकाब्य लेखिभ्याइहाल्छु यो लक डाउनमा ।

जे होस मेरा बा अतालिएका छैनन् निकै संयमित भएर परिवारलाई भाषण ठोकिरहँदा उनी साँच्चै नै जीवनलाई सरल र संयमित भई अघि बढ्न हौस्याइरहेका छन् ।

सुखमा नआत्तिनु दुखमा नमातिनु भन्ने बाको नैतिक शिक्षाको पाठले आज मलाई लाग्दैछ हो यो कोरोनालाई एकदिन अबश्य जितीन्छ बस् आफुलाई दरिलो बनाई उच्च मनोबलका साथ तयार हुनुछ ।
बाकीँ त समय आफैले नै बताउनेछ । लौ मेरो पुराण सकियो त गाईज कस्तो लाग्यो आफनो प्रतिकृया दिनुहोला सुरक्षित रहौँ बाको कुरा सुनौ ।

लेखक नारायण प्रधान चलचित्रकर्मी हुन ।

About Everest News 789 Articles
Everest News Nepal (Everest Culture & Media Academy) Lagankhel, Nepal. Tel: 977-01-5550662 Chief Editor: Chandra Wambule, Reporter: Prem Wambule & Manu Nembang

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*