
” नेपालका जंगलमा फल्ने ‘सुन’: प्रतिकिलो ४० हजार रुपैयाँसम्म पर्ने गुच्ची च्याउ “
काठमाडौं। जब हामी तरकारीको मूल्यबारे सोच्छौं, हाम्रो दिमागमा सय-दुई सय रुपैयाँ प्रतिकिलोको चित्र आउँछ। तर, नेपालकै जंगलमा यस्तो तरकारी (ढुसी) पाइन्छ, सको मूल्य सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ। हो, हामी कुरा गर्दैछौं संसारकै महँगोमध्ये एक मानिने गुच्ची च्याउको, जसको मूल्य नेपाली बजारमा प्रतिकिलो ३५ देखि ४० हजार रुपैयाँसम्म पर्दछ।
के हो गुच्ची च्याउ ?
स्थानीय रूपमा ‘पाटे च्याउ’ र अङ्ग्रेजीमा ‘मोरल मसरूम’ (Morel Mushroom) भनेर चिनिने यो च्याउ वास्तवमा एक प्रकारको ढुसी हो। यो च्याउ नेपालको पूर्व, मध्य र पश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा १८०० देखि ३५०० मिटरको उचाइमा प्राकृतिक रूपमा पाइन्छ। विशेषगरी, वर्षा ऋतु सुरु हुनुभन्दा अघि जंगलमा सडेगलेका काठ, दाउरा र पातपतिङ्गरमा यो उम्रन्छ।
यसको बनावट मौरीको चाकाजस्तो खोपिल्डा परेको, छाताजस्तो र भित्रपट्टि कपासको धागोले बुनेजस्तो देखिन्छ। नेपालमा यसका करिब आठ प्रजातिहरू पाइने जानकारहरू बताउँछन्।
किन यति महँगो ?
गुच्ची च्याउ महँगो हुनुका पछाडि केही कारण छन्। पहिलो, यो प्राकृतिक रूपमा जंगलमा मात्र पाइन्छ र यसको व्यावसायिक खेती अहिलेसम्म सम्भव भएको छैन। दोस्रो, यसको जीवनचक्र छोटो (करिब एक महिना) हुन्छ र संकलन गर्न मिल्ने अवधि जम्मा सात-आठ दिनको मात्र हुन्छ, जसले यसलाई दुर्लभ बनाउँछ।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण यसको पौष्टिकता हो। वैज्ञानिकहरूका अनुसार गुच्ची च्याउमा भिटामिन बी, सी, डी, र के जस्ता महत्त्वपूर्ण पोषक तत्त्वहरू उच्च मात्रामा पाइन्छन्। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने, मुटुलाई स्वस्थ राख्ने र विभिन्न स्वास्थ्य समस्याहरूमा औषधिको काम गर्ने विश्वास गरिन्छ।
नेपालको लुकेको खजाना
यो बहुमूल्य च्याउले नेपालको हिमाली तथा पहाडी क्षेत्रका स्थानीयका लागि उच्च आयआर्जनको स्रोत बन्न सक्ने सम्भावना बोकेको छ। यसको सही पहिचान, संकलन र बजारीकरण गर्न सके यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन ठूलो मद्दत पुर्याउन सक्छ। स्वाद र स्वास्थ्य दुवैका लागि उत्कृष्ट मानिने यो च्याउ नेपालको एक लुकेको प्राकृतिक खजाना हो। कृषी सुचनाबाट
Leave a Reply