
बुङ्गद्य करुणामयको रथ निर्माण थालनी गर्न देखा पर्ने विभिन्न समुदायहरुमध्ये एक समुदाय भनेको बोसिं समुदाय हुन्, आखिर को हुन् त बोसिं भन्ने समुदाय / खल: ?
बुङ्गद्य करुणामय ( रातो मच्छिन्द्रनाथ ) को रथ निर्माण गर्न सबै भन्दा पहिलो आवश्यक निर्माण सामग्री भनेको काठ हो । रथ निर्माण गर्दा यसको संरचना निर्माण गर्न विभिन्न भागमा विभिन्न प्रजातिका काठहरु आवश्यक रहेको हुन् जुन नेपालमण्डलका जङ्गलहरुमा पाइने हुन्छ । बुङ्गद्य करुणामयको रथ निर्माणमा आवश्यक विभिन्न प्रजातिका काठहरु खोज्न विभिन्न ठाउँका जङ्गलहरु विशेषतः गोदावरी जङ्गल चहारी रुखहरु खोज्ने, रुख काट्ने र रुखको बोक्राहरु ताछी उपयुक्त आकार र साइजमा काठहरु तयार पारी रथ निर्माण गर्ने थलो पुच्वमा पुर्याउने समुदायलाई बोसिं खल: भनेर भनिने गरिन्छ । उनीहरुको बासस्थान बुङ्गमतिको ख्वइँचा भन्ने ठाउँ हो ।
बोसिं शब्द ‘बो’ र सिं मिलेर बनेको शब्द हो । ‘बो’ भन्ने शब्द ‘ बोलेगु ‘ भन्ने शब्द बाट आएको हो जसको शाब्दिक अर्थ ताछ्नु या तछान् गर्नु भन्ने अर्थ दिन्छ । त्यस्तै ‘सिं ‘ भन्नाले काठ भनेर बुझिने हुन्छ । तसर्थ काठलाई ताछेर उपयुक्त आकार प्रकार दिई रथको काठको संरचना निर्माण गर्ने बाराही समुदायहरुलाई तयार पारेर दिने समुदायहरु नै बोसिं समुदायहरु हुन् । ऐतिहासिक कालखण्ड देखि नै बोसिं समुदायहरु १२ जनाहरु १२ परिवारहरुबाट आउनपर्ने बन्दोबस्त गरिएको पाइन्छ जसलाई दिघो रुपमा कृयाशील हुन प्रत्येक परिवारलाई १२ रोपनी जग्गा गुठी राखी बन्दोवस्त गरिएको पाइन्छ । रथको संरचना निर्माण गर्न ती समुदायहरु ६ प्रकारका काठका प्रजातीहरु खोज्न जङ्गलमा महिनौं दिनसम्म चहार्ने गर्दथ्यो । ती प्रजातीका रुखहरु निम्न हुन् –
१. सु सिं – फलाँटको रुख ( रथको खतहरु बनाउन प्रयोग गरिने )
२. सौर काठ – ( धमा, लसि मा प्रयोग हुने काठ हो, पहिला लहरे फलाँट काठ पनि प्रयोग हुन्थ्यो भने आजकाल चिलाउने रुखको काठ पनि प्रयोग गरिने हुन्छ )
३. नः सिं – सान्दानको रुख ( रथको पाङ्ग्रा बनाउन प्रयोग हुन्छ )
४. तु सिं – लाकुरे प्रजातिको रुख ( रथको गर्भगृहको थाम बनाउन प्रयोग हुन्छ )
५. धः पासी सिं – मयलको रुख ( घकु ,ब्रेक बनाउन प्रयोग हुन्छ )
६. ब सिं – आरुको रुख ( घकुको बीड बनाउन प्रयोग हुन्छ )
यी विभिन्न प्रजातिका काठहरु जङ्गलमा खोज्ने काम भनेको बोसिं समुदायको हो तर आजकाल गुथि संस्थानले ठेक्का दिएर यी काठहरु खोज्न लगाउने प्रथा बसालिसकेको छ त्यसैले बोसिं समुदायको काम काठ ताछ्नेमा मात्र बढी देखिएको छ । यद्यपि धमा, घकु र पाङ्ग्राका लागि चाहिने काठहरु खोज्न भने बोसिं समुदायहरु अहिलेसम्म लागिपरेका छन् ।
बोसिं समुदायहरु बस्ने थलो ‘ ख्वइँचा ‘ बारे जान्न चाहनुहुन्छ भने तलको लिङ्कमा जानुहोला ।
https://www.facebook.com/share/1CRvuMRSWJ
लेख र तस्वीर : Awakened Bungamati
Leave a Reply