सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित अन्य धेरै जना घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार धार्मिक जुलुसका क्रममा विवाद उत्पन्न भएपछि स्थिति तनावग्रस्त बन्दै हिंसात्मक झडपमा परिणत भएको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रुग्यास तथा गोली प्रहार गरेको जनाएको छ।
घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरी सुरक्षा व्यवस्था कडा बनाएको छ। घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको जनाएको छ।
प्रधानमन्त्री साहले आफ्नो सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत सो कुरा बताउनु भएको हो । उहा लेख्नुहुन्छ “नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए ।
प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ । तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यहि हो ।
मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।
फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।”

Leave a Reply