ख्वइँचा वस्ती बुङ्गमतिको सैन्य किल्ला ( Fort ) थियो …
बुङ्गमति भन्दा करीब १.५ कि.मि. दक्षिण दिशामा करीब ५६ परिवारको एउटा वस्ती छ जसलाई ख्वइँचा भनिन्छ । यस वस्तीमा बस्ने समुदायलाई बोसीं समुदाय भनिन्छ जसको काम भनेको बुङ्गद्य करुणामय ( रातो मच्छिन्द्रनाथ) को रथ बनाउनको लागि जंगलमा गएर काठ खोज्ने र काठको बोक्रा ताछेर बुङ्गमति हुदै रथ निर्माण हुने ठाउँ ललितपुरको पुच्व ( पुल्चोक ) सम्म ल्याउने हो । यहाँका वासिन्दाहरुका निजि अचल सम्पति भन्ने केही छैन, सबै सम्पति मच्छिन्द्रगुठी अन्तर्गत पर्दछ र यसैको आयस्ताले जीवन निर्वाह गर्दछन् । भर्खरै यहाँ लिच्छविकालीन अभिलेख भेटिएको पनि छ , जसबाट यहाँको वस्ती लिच्छविकालमै आवाद भईसकेको भान हुन्छ तर यो मानव बस्ने वस्तीभन्दा पनि बुङ्गमति नगरको सुरक्षाको निमित्त स्थापना गरिएको सैन्य किल्ला थियो भनेर निम्न उल्लेखित विभिन्न साँस्कृतिक कारणहरुले जनाउछ ।
१. ‘ क्वाथ ‘ भनेर यहाँका मान्छेहरुले गुठी भवनलाई सम्बोधन गर्छन् ।
सैन्य किल्ला जनाउने थेत नेवाः शब्द भनेको ‘क्वाथ’ हो जुन अहिलेसम्म पनि यहाँका वासिन्दाहरु गुठीघर जनाउन प्रयोग गर्छन् । यो शब्द पुर्वमध्येकाल, आज भन्दा ७००-८०० वर्ष अघि धेरै नै प्रचलित शब्द हो,कारण गोपालराजवंशावलीमा धेरै ठाँउमा उल्लेख भएको पाइन्छ जहाँ त्यो समय हुने आन्तरिक र बाह्य सैन्य हमलाहरुको उल्लेख गरिएको पाइन्छ । अहिलेको नुवाकोट लाई त्यो बेला नव क्वाथ भनिन्थ्यो भने बनेपालाई भोन्त क्वाथ , टोखालाई तोखा क्वाथ ईत्यादि भनेर सैन्य किल्लाको रुपमा जनाईन्थ्यो। सैन्य किल्लाको कमाण्डरलाई ‘क्वाथ नायक’ भनेर पछिसम्म सम्बोधन गरेको पाइन्छ । त्यसैले ‘ क्वाथ ‘ भनेर यहाँका वासिन्दाहरु गुठिको कृयाकलाप गर्ने भएर यो पक्कै बुङ्गमतिको सैन्य किल्ला थियो भनेर बुझ्न सक्छौं । स्मरण रहोस् बुङ्गमतिका मान्छेहरु भने यस वस्तीको पश्चिम पट्टीको खेतलाई ‘ ख्वात ‘ भनेर भन्छ्न् जुन त्यो क्वाथ शब्दको अपभ्रसं भएर बनेको शब्द हुन सक्दछ ।
२. करुणामयको चन्द्रहास खड्गको जात्रा ख्वइँचामा हुन्छ ।
बुङ्गद्य करुणामयको दुईवटा चन्द्रहास खड्गहरु वर्षको हरेक दिन करुणामय सँगै हुन्छ तर वर्षको एक दिन कौलाथ्व नवमी ( भोलि) को दिन बुङ्गमतिका गुर्जुहरुले ती चन्द्रहास खड्गहरुलाई बोकेर ख्वइँचा वस्तीमा लग्छन् र त्यहाँ जात्रा सुरु हुन्छ । दशमीको दिन भने त्यहाँको एक निराकार ढुँगा रहेको ठाउँमा ती खड्गहरुबाट भुयु फसी (कुभिण्डो) को बलि चढाउनु पर्छ । हुनतः यसलाई करुणामयको खड्ग सिंहसार्थबाहु भन्ने प्राचीन व्यापारीलाई यक्षणीहरुको बध गर्न ख्वइँचा पुर्याएको भन्ने अर्थमा लिइन्छ तर नेपालमण्डलकै अन्य ठाउँको खड्ग जात्राहरु हेर्ने हो र त्यो सँग तुलना गर्ने हो भने दशैं बेला हातहतियारहरुको अवस्था के कस्तो छ भनेर फर्सी काटेर हेरेको रुपमा लिएको भनेर अर्थ्याउन मिल्छ । अर्थात, यस नवमिको दिन भनेको पहिला सैन्य किल्लामा गएर हातहतियारहरु ठिक/बेठिक छ कि छैन भनेर हेर्ने दिन हो । नवमीको एक रात चन्द्रहास खड्ग ख्वइँचाको गुठीघर यानी क्वाथ मा राख्न पर्छ । यहाँ राखेपछि भोलि पल्ट दशमीको दिन बुङ्गमतिमा लगेर राती ‘ पायो त्यायेगु ‘ भनेर जात्रामा निकाल्नु पर्दछ ।
३. ख्वइँचाको भौगोलिक अवस्था
ख्वइँचाको भौगोलिक अवस्था हेर्दा पनि यो सैन्य किल्ला जस्तै देखिन्छ, यसको दक्षिण र पश्चिम तिर भिरालो गएको भुभाग भएको हुदा तलबाट हेर्दा यश वस्ती डाँडोमा रहेको जस्तो देखिन्छ । किल्लाहरु प्राय डाँडाको टुप्पामा बनाइन्थ्यो। उत्तर लिच्छवि र पुर्वमध्यकाल तिर थुप्रै बाह्य सैन्य हमलाहरु हुने गरेको देखिन्छ । पश्चिमका खस र दक्षिणका दोयहरुको आक्रमण गर्ने एउटा मार्ग दक्षिणबाट बागमति तीरै तीर पनि हो भनेर पनि भनिने गरिन्छ । त्यसैले नेपालउपत्यकाको सुरक्षाको निमित्त दक्षिणमा रहेको प्राचीन ऐतिहासिक वस्ती फर्पिङ्ग लाई चारै तर्फ पर्खालले घेरिएको विशाल सैन्य किल्लाको रुपमा विकास गरेको पाईन्छ । बाह्य हमलाहरुबाट फर्पिङ्ग किल्लालाई परास्त गर्न सके तिनीहरुलाई दुईवटा बाटाहरुबाट मध्ये काठमाडौं नगर तिर प्रवेश गर्दथे । एउटा फर्पिङ्गबाट बागमती तरेर बुङ्गमति क्षेत्र प्रवेश गरी पाटन तिर जाने , अर्को फर्पिङ्गबाट बागमती नतरी सिधै कीर्तिपुर क्षेत्र प्रवेश गर्ने । नेपालउपत्यकामा पाल्पाली सेनवंशी राजा मुकुण्डसेनको हमला हुदा यी दुबै बाटो प्रयोग गरि दुबै तर्फबाट एकैचोटि हमला गरिएको थियो भनेर वंशावलीहरुमा पढ्न पाइन्छ । बागमति तरेर यसै बुङ्गमतिको ख्वइँचा किल्लालाई भत्काउन पर्दथ्यो। ख्वइँचामा खड्ग पुजा हुदाखेरी फर्पिङ्गको प्रतीक दक्षिणकालीबाट फुल पनि चढाउनुपर्ने परम्परा रहेको छ। मुकुण्डसेनले बुङ्गमतिमा वितन्दा मच्चाएर हयग्रीव भैरवको मुर्ति नै उखेलेर पाल्पा तिर लगेको जनश्रुति रहेको छ र पछि प्रायश्चित गरि बुङ्गमतिमा महाबली दिएर क्षमापुजा गरेको कुरा अझै ताजा रहेको छ । नवमिको बेला गुर्जु ख्वइँचा पुगेर त्यहाँको फुल प्रसाद बुङ्गमतिमा पुगेपछि ‘ मुकुन्दपुजा ‘ भन्ने सरकारी पुजा अनिवार्य रुपमा अहिलेसम्म चलिआएको हुनाले पनि ख्वइँचा पक्कै किल्ला रहेको भान हुन्छ ।
४. पराक्रमी देवताहरु ‘महाकाल’ र ‘हनुमान’ को वास हुनु ।
सैन्यकिल्लाहरुमा विशेषतः डरलाग्दा भयंकर र पराक्रमी देवताहरु स्थापना गर्ने चलन रहेको हुन्छ जसले सैनिकहरुको आत्मबलमा सघाउ पुर्याउछ । त्यसैअनुरुप यहाँ भैरवको रुद्र रुप महांकाल देवताको स्थापना गरेको पाईन्छ जहाँ नवमीको बेला बलि समेत चढाइन्छ । त्यस्तै यहाँ हनुमानको प्रतीकको रुपमा स्थापना गरिएका केही शिलाहरु रहेका छन् । यहाँ पुजा गरिसकेपछि मात्र बुङ्गमतिमा हनुमान जगाउने जात्रा- धुसापँ खायेगु जात्रा सुरु हुन्छ भन्ने मान्यता पनि रहेको छ । यसो हुनुले पक्कै पनि यश क्षेत्रमा परापुर्वकालमा पराक्रमी सैनिकहरु बस्दथे भन्ने हो ।
निष्कर्ष
यी एवम् कारणले गर्दाखेरी हामी यो निष्कर्षमा पुग्न सक्छौं कि ख्वइँचाका बोसिं समुदाय भनेको करुणामयको कर्मकाण्डका लागि मात्र होइन कि वस्तीको सुरक्षाका निमित्त पनि राज्यबाट खटाइएको समुदाय पनि हो । शारीरिक रुपमा बलियो हुने भएकाले नै करुणामयको रथ निर्माणमा प्रयोग हुने काठहरु खोज्ने जस्तो गाह्रो काम उनीहरुको भागमा परेको हो भन्न सक्छौं । यस्तो महत्वपूर्ण स्थल २०७२ सालमा गएको भुकम्पबाट नराम्रोसँग क्षति भएको छ। त्यसमाथि फास्ट ट्रयाकमा यहाँका समुदायहरुले आर्जेको मच्छिन्द्र गुठीका जग्गाहरुमा परेको र गुठीको जग्गामा मुआब्जा नदिने प्रावधान रहेको हुदा यहाँका समुदायहरु दोहोरो मारमा परेका छन् । आशा छ उनीहरुको माग सम्बन्धित निकायबाट चाँडै सम्बोधन हुनेछ ।
भोलि नवमिको दिन यहाँ भव्य जात्रा हुदैछ । हेर्न आउनका लागि अनुरोध छ ।
Article by : Awakened Bungamati
Leave a Reply