२ भदौ, काठमाडौं । नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको छ। ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठलाई अन्तिम बिदाइ गर्न साहित्यकार, कलाकार, राजनीतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विगत छ दशकदेखि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषामा कविता, गीत तथा साहित्यका विभिन्न विधामा महत्वपूर्ण योगदान दिएका थिए। नेपाल भाषा परिषद्ले उनलाई साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘जनकवि’को उपाधि प्रदान गरेको थियो भने वि.सं. २०६७ मा उनलाई जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो।
‘फूलको आँखामा फूलै संसार’ लगायतका कालजयी गीत तथा कवितामार्फत सकारात्मक जीवनदृष्टि र मानवीय भावनाको सन्देश दिएका श्रेष्ठको निधनले नेपाली तथा नेपालभाषा साहित्यमा अपूरणीय क्षति पुगेको साहित्य क्षेत्रले जनाएको छ।
अन्तिम बिदाइमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
Leave a Reply